शुभप्रवा सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौंको चुच्चेपाटीमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभको १४औं बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. युवराज खतिवडा रहेका थिए भने कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष विदुर बस्नेतले गर्नुभएको हो ।
सो सभामा बोल्दै प्रमुख अतिथि खतिवडाले सदस्यहरुको विश्वास जितेको कारण वित्तीय संकटको बेलामा पनि तरलता व्यवस्थापन गर्न सक्नु संस्थाको राम्रो पक्ष भएको जानकारी गराए । सदस्यले नै सहकारीलाई बचाउने भन्दै उनले सदस्य र संस्थाबीच राम्रोे सम्बन्ध स्थापित गरेर अगाडि बढ्न सुझाव दिएका हुन् ।
संस्थाका अध्यक्ष बस्नेतले सहकारी मूल्य , मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै स्वनियमन र सुशासनमा चलेकाले वित्तीय संकटको बेलामा पनि संस्थाको साखलाई जोगाइराख्न सकेको जनाए। सदस्यहरुलाई आधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न संस्था सफल भएको उनको भनाई रहेको छ । मुलुकमा आएको आर्थिक मन्दीका कारण थप समस्या सृजना भएको वर्तमान अवस्थामा पनि सदस्यहरुको विश्वास र सहयोगका कारण संस्थालाई निरन्तर अगाडि बढेको प्रष्ट पारे
।
त्यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत फडिन्द्र कुमार खड्काले आर्थिक बर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । कोभिड १९ पछि सुरु भएको आर्थिक मन्दीका कारण आम नागरिकको जीवनस्तर, आय आर्जन र व्यापार व्यवसायमा प्रभाव पर्दा त्यसको समग्र असर वित्तीय क्षेत्रमा समेत परेको उनले जानकारी गराए ।
तरलता अभावका कारण वित्तीय क्षेत्रमा निक्षेप संकलनमा देखिएको अस्वस्थ प्रतिस्पर्धा तथा ब्याजदरमा देखिएको फराकिलो उतारचढावले सहकारी क्षेत्रमा थप दवाव सृजना भएको उनको भनाई रहेको छ ।
संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्म ८ करोड ९३ लाख शेयर पुँजी, ४८ करोड ८९ लाख ९६ हजार बचत संकलन र ५४ करोड ६६ लाख ५० हजार ऋण लगानी गरेको छ । त्यसैगरी संस्थाको कोषमा ८ करोड ३ लाख ७४ रुपैया जम्मा भएको छ भने त्यस अवधिमा १ करोड १ लाख सञ्चालन मुनाफा आर्जन गर्न संस्था सफल भएको र असार मसान्तमा संस्थाको कूल सम्पत्ति ७४ करोड २५ लाख ९४ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।