सगुन सहकारीले हालिदियो शिव मन्दिरमा छाना
सर्लाहीको हरिवन नपामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले सामाlजक उत्तरदायित्व अन्तर्गत सर्लाहीकै हजारिया स्थित शिव मन्दिरमा छानो हाल्दिएको छ ।
सहकारीको सातौ सिद्धान्त समुदायप्रति चासो भन्ने मुल मन्त्रलाई आत्मासाथ तथा सामाजिक उत्तरदायित्व बहन गर्दै बरहथवा नगरपालिका २ हजारियामा रहेको नागेश्वर शिव मन्दिरमा ट्रष्टको छानो निर्माण सम्पन्न गरिएको हो । त्यस भेगका सदस्यहरुको माग बमोजिम एक लाख १९ हजार ४७९ रुपैयाँ ४४ पैसा लागतमा मन्दिरमा छानो हाल्ने काम गरिएको सगुनका व्यवस्थापक रवीन्द्र रानाले जानकारी दिए ।
उनका अनुसार आज एक कार्यक्रमको आयोजना गरी छानो निर्माणमा खर्च भएको रकम हस्तान्तरण गरिएको छ । संस्थाकी कार्यवाहक अध्यक्ष तारादेवी सुवेदी पोखरेलको अध्यक्षता तथा बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमार कटुवालको प्रमुख आतिथ्यतामा उक्त रकम शिव मन्दिर समितिका अध्यक्ष केदार खड्कालाई हस्तान्तरण गरेका छन् ।
बरहथवा सेवा केन्द्र उपसमिति सदस्य हरि बहादुर काफ्लेले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा संस्थाका सचिव राजकुमार उप्रेतीले संस्थाको आर्थिक पाटो र सामाजिक पाटोको बिषयमा अन्तरक्रिया सहित छलफल गरेका थिए ।
स्थानिय सन्तोष दाहालले धन्यबाद सहितको मन्तब्य राखे ।उक्त अन्तरिक्रया कार्यक्रममा संस्थाको संचालकहरु मुख्तार मिया मुकेरी, सेवा केन्द्र सदस्य सुनिता साह लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मेयर कटुवालले सगुन समुदायको साथीका रुपमा पाएको र आफुपनि त्यसको सदस्य भएकोमा गर्व लागेको बताउनुभएको कार्यक्रम संचालक एवं संस्थाका सूचना अधिकारी निरोजकुमार दाहालले बताए ।