आईडियल सहकारी संस्थाको २६ औं बार्षिक साधरण सभा सम्पन्न सदस्यहरुलाई साढे नौ प्रतिशत लाभांश दिने

0 Shares
राजविराज ,आईडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राजविराजले आफ्ना शेयर सदस्यहरुलाई साढे नौ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
संस्थाको शनिबार राजविराजमा आयोजित २६औं बार्षिक साधारण सभामा सञ्चालक समितिका उपाध्यक्ष विजयानन्द झाले सो लाभांश वितरण गर्ने जानकारी दिनुभयो ।
मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाहरुमध्येका एक आईडियल बचत तथा ऋण सहकारी संस्थामा १७ हजार ६८६ जना शेयर सदस्य रहेका छन् ।
आ.ब. २०८१/०८२ मा संस्थाको कूल सम्पत्ति १ अर्ब ४५ करोड ५४ लाख ७७ हजार रुपैयाँ रहेको कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समितिका अध्यक्ष गणेश कुमार आशले जानकारी दिनुभयो । यसैगरी गत आर्थिक बर्षमा संस्थाले १४ करोड ६९ लाख ४५ हजार २८३ रुपैयाँ आम्दानी गरेको अध्यक्ष आशले जानकारी दिनुभयो ।
संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि आ.ब. २०८२/०८३ मा स्वरोजगारमुलक सिप विकास तालिम, महिला उद्यमशिलता तालिम, सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम, सहकारी नीति, नियम तथा ऐन कानुन सम्बन्धी तालिम, प्रविधिको प्रयोग सम्बन्धी तालिम, आन्तरिक लेखा परीक्षण तालिम, सञ्चालक क्षमता विकास तालिम तथा कर्मचारीहरुका लागि क्षमता विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्ने नीति तथा कार्यक्रम तय गरेको छ । यसैगरी सहकारी संस्थालाई कानुनसम्मत ढंगबाट ब्यवस्थित रुपमा सञ्चालन गर्न विभिन्न २४ वटा नीति तथा कार्यविधिहरु तयार गरि लागू गरिएको सहकारीका ब्यवस्थापक विनोद कुमार साफीले जानकारी दिनुभयो ।
आईडियल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा आयोजित २६औं बार्षिक साधारण सभामा सचिवको प्रतिवेदन विजयानन्द झा, कोषाध्यक्षको प्रतिवेदन मन्जुदेवी साह र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन डम्बर प्रसाद महतोले प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा संस्थाका शेयर सदस्यहरु ईन्द्रनारायण देव, कर्णदेव चौधरी, कमालउद्दिन  लगायतकाले संस्थाको बारेमा मन्तब्य ब्यक्त गर्नुभएको थियो । लेखा सुपरीवेक्षण समितिका संयोजक दिनेश साहले स्वागत गर्नुभएको कार्यक्रम राजेश झाले सञ्चालन गर्नुभएको थियो । सो कार्यक्रममा शेयर सदस्य झाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरुको नियमनका लागि जारी गरेको मापदण्डका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply