ओली सरकारको एक वर्ष पूरा , सरकार र विपक्षको मुल्यांकनमा भिन्नता

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सरकार बनेको आज एक वर्ष पूरा भएको छ । ओली सरकारले एक वर्षको अवधिमा आधार बनेको र अर्को वर्षभित्र उपलव्धी हासिल हुने बताएको छ । एक वर्षको अवधिमा वर्तमान सरकारले धेरै काम गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।
देशबासीका नाममा हिजो सम्बोधनका क्रममा उहाँले आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गर्नु भएको थियो ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुले यो सरकारले कामभन्दा कुरा बढी गरेको र यसको एक वर्षको कार्यकाल निराशाजनक रहेको बताएका छन् भने नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले वर्तमान सरकारले जन अपेक्षा अनुरुप काम गर्न नसकेको प्रतिक्रिया दिनु भएको छ। विवेकशील साझा पार्टीले ओलीको सरकारको एक वर्ष निराशाजनक रहेको बताएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता रत्नप्रसाद जोशीले ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष जनताको पक्षमा काम गर्ने भन्दा पनि गफ गरेर बितेको बताउनु भएको छ। “मुलुकमा महङ्गी , हत्य , भ्रष्टाचार ,बलात्कार र दण्डहीनतामा कमी नआएको र प्रधानमन्त्री ओलीले उखान र तुक्का भनेर आफ्ना कमजोरी ढाकछोप गरेको” उहाँको भनाई ।
जानकारहरुले भने यो सरकारले संघीयताको जग बसाए पनि समृद्ध नेपाल र सुखी नेपालीको नारा अनुरुपको काम गर्न भने नसकेको बताएका छ।