ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को नेतृत्व सर्वसम्मत ढंगबाट चयन होस्

ललितपुरको न:टोलमा रहेको जीवनचक्र बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आज प्रभु म्यानेजमेण्ट ग्रुपबाट यस संस्थाका सञ्चालक समिति , लेखा समिति तथा कर्मचारीहरुलाई लेखा सम्बन्धी तालिम प्रदान गरेको बताइएको छ । यस अघि गएको पुस १५ देखि १७ गतेसम्म सो संस्थाको सञ्चालक समितिले कोशिश सफ्टवेयर कम्पनीबाट सफ्टवेयर तालिम लिएका थिए भने गएको कार्तिक महिनाको अन्तिम साता नेफ्स्कुनबाट सो संस्थाका सञ्चालक राजेन्द्रप्रसाद न्यौपानेलाई ऋण सम्बन्धी र बजार प्रतिनिधि राम आले मगरलाई बजार सम्बन्धी तालिम प्रदान गरिएको थियो ।
गएको असोज ६ गते सम्पन्न यस संस्थाको ९औँ वार्षिक साधारणसभाले पारित गरेको कार्ययोजनाहरु कार्यान्वयन गरिरहेको सो संस्थाका व्यवस्थापक सन्तोष श्रेष्ठले बताएका छन् ।
उक्त साधारणसभाद्वारा पारित भ त्यस संस्थाका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले पेश गरेको संस्थाको वार्षिक प्रतिवेदनमा (१) विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्ने , गराउने (२) अन्तर सहकारी सम्बन्ध बढाउने र सूचना आदान प्रदान गर्ने (३) सहकारी संघ , सहकारी बैंक र सहकारी सम्बन्धी सरकारी र स्थानीय निकाय एवं गैर सरकारी निकायहरुसँग सम्बन्ध एवं समन्वय राखी सदस्यहरुको हितमा काम गर्ने , गराउने (४) शेयर सदस्यता बढाउने र बचत गर्ने बानीको विकास गर्दै निक्षेप संकलन बढाउन सीप तथा व्यवसाय अभिवृद्धिका विभिन्न उपायहरुको अवलम्वन गर्ने (५) विभिन्न उप-समिति गठन गरी थप क्रियाशील बनाउने (६) आफ्नो कार्यक्षेत्र भित्रका सामाजिक संस्थाहरुसँग सहकार्य गर्ने (७) सदस्यहरुको सेवा सुविधाका लागि नयाँ – नयाँ कार्यहरुको खोजी गरी कार्यक्रम बनाएर लागू गर्ने र (८) शेयर सदस्यहरुका सुविधाका लागि आफैले मोवाइल रिचार्ज गर्ने , मिनी स्टेटमेण्ट हेर्ने , रकम ट्रानसफर गर्ने , मोवाइल र इन्टरनेटको विल भुक्तानी गर्ने र मोवाइल एप्स सञ्चालन गर्ने जस्ता कार्ययोजना उल्लेख गरिएको थियो । त्यसैगरी त्यस साधारणसभाले पारित गरेको सो संस्थाका कोषाध्यक्ष कुलप्रसाद श्रेष्ठको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६मा संस्थाको शेयर पूँजी रु.१ करोड , बचत संकलनतर्फ रु.३ करोड ५० लाख , कर्जा लगानीतर्फ रु.४ करोड , संस्थाको विभिन्न कोषतर्फ रु.१२ लाख , आम्दानीतर्फ रु. ४१ लाख १८ हजार ९सय ४८ रुपैयाबाट बढाएर रु.६५ लाख पचास हजार पु-याउने लक्ष्य रहेको र खर्चतर्फरु.३९ लाख २७ हजार २७ बाट बढेर रु. ५१ लाख रहने अनुमान गरिएको उल्लेख गरिएको छ ।
त्यस संस्थाको शेयर पूँजी रु.५८,१५,००० , बचत संकलन रु.२,३८,२७,८९२/३५ , कर्जा प्रवाह रु.२,३६,१९,१२१/१५ रहेको र संस्थाले आफ्ना सदस्यहरुलाई १५ प्रतिशत बोनस वितरण गरेको सो संस्थाकी सहायक लेखापाल मनपति चौधरीको भनाई छ ।
आफ्ना सदस्यहरुको हितलाई ध्यान दिएर IME , PRABHU , WESTERN UNION , HIMAL , BEST र GME रेमिट सेवा तथा E-SEWA सञ्चालन गरिरहेको त्यस संस्थाका व्यवस्थापक श्रेष्ठको भनाई छ । ‘सहकारी मैत्री भएर जतिसक्तो चाडो सहकारी नियमावली जारी हुनु पर्छ’ उनले भने । ‘यही आउदो फागुन १८ गते सम्पन्न हुन गइरहेको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २४औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत ढंगबाट नयाँ नेतृत्व चयन होस्’ उनको थप भनाई छ ।