सहकारीकर्मीहरुको सहभागितामा गरियो ललितपुरको रिङ्गरोड सरसफाई

0 Shares

हिजो ललितपुरको रिङ्गरोड अन्तर्गत महालक्ष्मीस्थानदेखि सातदोबाटोसम्म ललितपुरका  विभिन्न सहकारी संघ/संस्थाहरुका सहकारीकर्मीहरुको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 

गएको  माघ १२ गतेदेखि  ललितपुर रिङ्गरोड सरसफाई अभियान शुरु भएको थियो । बल्खू  पुलबाट शुरु भएको सरसफाई अभियान हिजो सातदोबाटो चोक पुगेको छ । हरेक शनिवार विहान ७:०० बजेदेखि ९:०० बजेसम्म ललितपुर रिङ्गरोड सरसफाई हुँदै आएको छ । सरसफाई अभियानमा ललितपुर जिल्ला भित्रका सहकारी संघ/संस्थाहरुको संयोजन  गरिरहनु भएका नेपाल  बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सचिव तथा प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि. , थसिखेलका अध्यक्ष माधव तिमिल्सिनाले यो सरसफाई अभियान निरन्तर अगाडि बढी बालकुमारी पुलसम्म पुग्ने बताउनु भयो । उहाँले समृद्ध नेपाल निर्माणको अभियान अगाडि बढिरहेको  उल्लेख गर्दै आफ्नो घर , टोल र बाटो सफा राख्नु हामी सबैको दायित्व भएको बताउनु भयो ।  ‘पैसा उपलब्ध भएछ भने रिङ्गरोडको फुटपाथ माथिबाट रेल कुद्ला , नभए फुटपाथ फुटपाथै रहला तर हामीले यसको सुन्दरता कायम राख्नुपर्छ’ उहाँको थप भनाई थियो ।

राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक तथा जिल्ला सहकारी संघ लि. ललितपुरका अध्यक्ष माधव दुलालले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी  भन्ने मूल नाराका साथ ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा यही चैत १३ गतेदेखि २३ गतेसम्म ललितपुरमा विभिन्न रचनात्मक क्रियाकलापहरु भइरहेको उल्लेख गर्दै यस बेला ललितपुरको रिङ्गरोड मात्रै नभई ललितपुर जिल्लाभरी नै सरसफाई अभियान चलिरहेको बताउनुभयो । ललितपुर रिङ्गरोड सरसफाई अभियानका अभियन्ता लक्ष्मी गेलालले बागमती सफाई अभियान जस्तै ललितपुर रिङ्गरोड सरसफाई अभियान निरन्तर अगाडि बढिरहने बताउनुभयो ।

रिङ्गरोड सरसफाई अभियानमा ललितपुर जिल्लाका जिल्ला सहकारी संघ लि. ललितपुर परिवार , प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि. ,  शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लि.  ,  प्रतिभा बचत तथा ऋण सहकारी संस्थ लि.  , मधुवन बचत तथा ऋण सहकारी संस्था लि. , पञ्चशील बचत तथा ऋण सहकारी संस्था लि. , परोपकार बचत तथा ऋण सहकारी संस्था लि. , परिचित बचत तथा ऋण सहकारी संस्था लि. , नमूना बचत तथा ऋण सहकारी संस्था लि. , संयुक्त बचत तथा ऋण सहकारी संस्था लि. , आयाम बचत तथा ऋण सहकारी संस्था लि. , सम्प्रेषण बहुउद्देश्यीय सहकारी संस्था लि. र नारी शक्ति बचत तथा ङण सहकारी संस्था लि. को सहभागिता रहेको थियो ।

त्यस अवसरमा ललितपुरको सातदोबाटोमा जथाभावी फोहोर फाल्ने ३ जनालाई  प्रहरीले कारवाही गरेको जानकारी गरिएको थियो ।

 

Leave a Reply