राज्यका सबै तहका नीति , ऐन , कानून र नियमावली सहकारीमैत्री बन्नुपर्छ

0 Shares

-जगतलाल महर्जन , नि:बर्तमान उपाध्यक्ष , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

 

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का नि:वर्तमान उपाध्यक्ष जगतलाल महर्जन अध्ययनशील , जुझारु र मिलानसार सहकारीकर्मी हुनुहुन्छ । ललितपुर महानगरपालिका वडा २७ , सुनाकोठीमा अवस्थित स्वागतम् बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना कालदेखि हालसम्म अध्यक्ष बनेर सो संस्थालाई राम्रोसँग अगाडि बढाई रहनु भएका महर्जनसँग हिजो सहकारी सञ्जालले समसामयिक विषयमा कुराकानी गरेको थियो । जो यस प्रकार छ ।

 

१. यतिबेला के गर्दै हुनुहुन्छ ?

~ ६२औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुर जिल्लाभर विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन्। ती कार्यक्रमहरूमा सके जति सहयोग गरेर अगाडि बढिरहेका छौँ । त्यही सन्दर्भमा विगतका वर्षहरुमा झैं आज हामीले स्वागतम बचत तथा ऋण सहकारी संस्था लि. आयोजक तथा सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि. , धन्यवाद बचत तथा ऋण सहकारी संस्था लि. , चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्था लि. र  गंगा जमुना बचत तथा ऋण सहकारी संस्थ लि. सह-आयोजक बनी भूतपूर्व गृह राज्यमन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि. का भूतपूर्व अध्यक्ष दीपकप्रकाश बासकोटाको हातबाट ४५ जना विद्यार्थीहरुलाई  झोला , २०  जना विद्यार्थीहरुलाई स्टेसनरी र खेलकुदका सामाग्रीहरु र एक जना असाह्य अभिभावकलाई रु.४,०००  प्रदान  ग-यौँ ।

२. राष्ट्रिय सहकारी दिवस मनाई रहँदा  तपाईलाई राज्यले सहकारीको विकासको लागि के गर्नु पर्ला जस्तो लाग्छ ?

~ हामीले राज्यसँग माग्ने भनेको नीति , ऐन , कानून र नियम नै हो । त्यही भएको कारणले गर्दा नीति , ऐन , कानून तथा नियम सहकारीमैत्री भई दियोस् भन्ने हामी सहकारीकर्मीहरुको चाहना छ ।  राज्यका सबै तहका ऐन , कानून तथा नियमावली सहकारीलाई सहज वातावरण बनाउने ढंगबाट बन्नुपर्छ भन्ने हामी सहकार्मीहरुको माग छ ।

मैले विगतका ३/४ वर्ष जिल्ला सहकारी संघ लि. , ललितपुर मातहतका विभिन्न कार्यक्रमहरुको संयोजकको रुपमा काम गरेको थिएँ । त्यसरी काम गरिरहँदा हामी सहकारीकर्मीहरुलाई सहकारी दिवसको दिन छुट्टी चाहिने भएकोले छुट्टी दिइयोसा भन्ने हाम्रो चाहना हो ।

३. राज्यको अर्थतन्त्रका ३ खम्बामध्येको तेस्रो खम्बाको रुपमा रहेको सहकारी अरु दुई खम्बाको तुलनामा अलि कमजोर छ भन्ने गरिन्छ । यसलाई अरु दुई खम्बा जत्तिकै बलियो बनाउन के गर्नु पर्ला ?

~ राज्यले सहकारीलाई अर्थतन्त्रको तीन खम्बामध्ये तेस्रो खम्बाको रुपमा  परिभाषित गरेको अवस्था छ ।  अरु दुई खम्बाको तुलनामा त यो कमजोर पक्कै छ तर सहकारीमा ६३ लाखभन्दा बढी सदस्यहरु छन् ।  सहकारीको माध्यमबाट नै देशको समृद्धि सम्भव भएकोले हामी सहकारीकर्मीहरुले सहमती , सहकार्य र एकता गरी  अगाडि आई पर्ने विभिन्न समस्या र  चुनौतिलाई अवसरमा बदल्दै अगाडि बढ्नु पर्दछ। यसो गर्न सकियो भने  जुन अहिले समृद्ध नेपाल या नयाँ नेपालको परिकल्पना छ , त्यो यथार्थमा परिणत हुन सक्छ ।

४. सहकारी कर्जा सूचना केन्द्रको बारेमा तपाई के भन्नु हुन्छ ?

~ सहकारी ऐन , २०७४ मा स्पष्ट व्यवस्था भएको  सहकारी सूचना केन्द्रको नीति सतप्रतिशत राज्यले लागू गर्नै पर्दछ । जबसम्म त्यो लागू हुदैन , तबसम्म  सहकारी सञ्चालन गरिरहेका हामीहरुलाई गाह्रो हुन्छ । सहकारी र सहकारीकर्मीहरुलाई ध्यानमा राखेर राज्यले सहकारी कर्जा सूचना केन्द्र जतिसक्तो छिटो सञ्चालनमा ल्याओस् ।

५. सहकारी बैंकको बारेमा तपाईको के भन्नु छ कि ?

~ राष्ट्रिय सहकारी बैंक लि. ले धेरै राम्रो गरेको छ । यो बैंकले देशभर शाखा विस्तार गरेर आफ्ना सदस्य संस्थाहरुलाई राम्रोसँग सेवा दिइरहेको छ । त्यो साह्रै नै सराहनीय छ । आउदा दिनमा अझै थप र अरुले भन्दा बढी सेवा सुविधा प्रदान गरी सफलताको बाटोमा यो अगाडि बढ्न सफल होस् भन्ने कामना गर्दछु ।

६.  करिव १ महिना अगाडि सम्पन्न ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २४औँ वार्षिक साधारणसभाबाट सो संघमा नयाँ नेतृत्व आएको छ । त्यो नेतृत्वबारे तपाई के भन्नु हुन्छ ?

~ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को अहिलेको नेतृत्वको टिम अनुभवी र सक्षम छ । सहकारीलाई राम्रोसँग बुझेका र राम्रै सहकारी चलाएका साथीहरु सो नेतृत्व टिममा हुनुहुन्छ । त्यस हिसावबाट उहाँहरुलाई म बधाई दिन चाहन्छु । साथै हामीले रु. ७ करोड कारोवार  गरिरहेको यो संघलाई एउटा कोठामा थन्किएको अवस्थाबाट उठाएर यसको रु. ५० करोड हाराहारीमा कारोवार पु-याएर राष्ट्रिय सहकारी महासंघ लि. र नेफ्स्कुनबाट यस संघलाई देशकै उत्कृष्ट सहकारी संघको पुरस्कारबाट सम्मानित गराउन सफल भए झैं यो टिमले पनि यस संघलाई अझैं राम्रोसँग अगाडि बढाउन  सकोस् ।

मैले यस संघको २४ औँ साधारणसभाको बेला अहिले यस संघको नेतृत्वमा रहनु भएका साथीहरुको घोषणापत्रमा यो संघमा रु. ५ अरवको कारोवार पु-याउने लक्ष्य रहेको भन्ने पढेको थिएँ । यसमा उहाँहरुलाई सफलता मिलोस् भन्ने कामना गर्दछु । यो टिमले ललितपुर जिल्लामा रहेका सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुलाई सेवा , सुविधा , शिक्षा र तालिम जस्त कुराहरुलाई  निरन्तर रुपमा राम्रोसँग अगाडि बढाउन सफल होस् भन्ने शुभकामना दिन चाहन्छु ।

७. तपाई अध्यक्ष रहनु भएको स्वागतम बचत तथा ऋण सहकारी संस्था लि. को गतिविधि के छ ?

~ स्वागतम बचत तथा ऋण सहकारी संस्था लि. हामीले २०६६ सालबाट सञ्चालन गरिरहेका छौँ  । २०६६ साबाट अहिलेसम्म आउदा हामीले आफ्ना शेयर सदस्यहरुलाई जति पनि दिनु पर्ने सहकारी शिक्षा , तालिम लगायतका सेवा सुविधाहरु प्रदान गरिरहेका छौँ । सदस्यहरुलाई आत्मनिर्भर बनाउने विषयहरु र समाजमा विभिन्न प्रकारका नयाँ -नयाँ अभ्यास गरेर समाजलाई केही दिनु पर्दछ भन्ने उद्देश्यले समुदायप्रति हामीले चासो राख्दै समाजलाई समृद्धीको बाटोमा अगाडि बढाउनको निम्ति हामीले विभिन्न कार्यक्रमहरु अगाडि बढाई रहेका छौँ । आफ्ना शेयर सदस्यहरुलाई मात्रै नभएर ललितपुरमा नमुना योग्य कार्यहरु गर्दै हामी अगाडि बढिरहेका छौँ । भविष्यमा पनि हामीले हाम्रो तर्फबाट गर्न सक्ने र हाम्रो तर्फबाट हुन सक्ने विभिन्न सामाजिक क्रियाकलापहरु गर्ने र सहकारी नीति , नियम र  कानुनलाई मानेर सधै अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गर्ध चाहन्छु ।

८. यसका शेयर सदस्य , शेयर पूँजी , निक्षेप संकलन , कर्जा प्रवाह र कुल कारोवार कति छ ?

~ हाम्रो यस संस्थामा पहिला १,२०० शेयर सदस्यहरु  थिए तर अहिलेको सहकारी ऐनले सकेसम्म सदस्य नदोहोरियोस् भन्ने व्यवस्था गरे अनुरुप अहिले सबै जनालाई व्यवस्थित गराउन कोशिस गरेकाले ७३१ शेयर सदस्यहरु छन् । यसमा निक्षेप संकलन रु रु. ९ करोडको हाराहारीमा छ , शेयर पूँजी रु. २,१२,००,७०० , कर्जा लगानी रु ७ को हाराहारीमा र कुल कारोवार रु. १४ करोडको हाराहारीमा छ । हामीले हाम्रो यस संस्थाका शेयर सदस्यहरुलाई सहकारी नीति नियमले व्यवस्था गरे बमोजिम लाभांश दिएका छौँ ।

९. यस संस्थाले अरु के गर्दै छ ?

~ हामी तत्कालै संस्थाको भावी रणनीतिक योजना निर्माणका लागि बैठक बस्तै छौँ । बैठकबाट भावी दिनमा संस्थाको कुन -कुन कार्यक्रम कसरी अगाडि बढाउन सकिन्छ र सदस्यहरुलााई कसरी बढी भन्दा बढी सेवा सुविधा प्रदान गर्न सकिन्छ भन्ने जस्ता कुराहरुको होमवर्क भइरहेको छ ।

१०.अन्तमा केही भन्नु छ कि ?

~६२औँ राष्ट्रिय दिवस मनाई रहेको यो बेलामा  सहकारी शिक्षा , तालिम जस्ता आवश्यक कुराहरु राज्यका जिम्मेवार निकाय तथा सहकारी संघहरुले प्रारम्भिक  संस्थाहरुमा राम्रोसँग निरन्तर उपलव्ध गरी सहकारीलाई बलियो खम्बा बनाउने ढंगबाट काम गर्नु आवश्यक छ । त्यसैगरी सहकारीमा नेतृत्व विकास र हस्तान्तरण गर्न पनि म सिङ्गो सहकारी अभियानलाई अनुरोध गर्न चाहन्छु ।

 

 

Leave a Reply