पाँचतारा साकोसको ११औँ वार्षिक उत्सव सम्पन्न , जनसचेतन साकोसका अध्यक्ष ढुंगेल सम्मानित

काठमाडौं महानगरपालिका -३२ , पुरानो सिनामंगल (पेप्सीकोला) मा आफ्नै भवनबाट कारोवार गरिरहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ वार्षिक उत्सव हिजो सम्पन्न भयो । संघीय संसदको प्रतिनिधिसभाकी उप-सभामुख डा. शिवमाया तुम्बाहाम्फेले एक समारोहका वीच सो वार्षिक उत्सवको उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्नु हुदै उहाँले यस पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि. ले राम्रो कार्य गरिरहेको यसका गतिविधिहरुबाट प्रष्ट भएको उल्लेख गर्दै सहकारी संस्थाहरुले सदस्यहरुको आर्थिक उन्नतीमा ध्यान दिनु पर्ने बताउनुभयो । सहकारी ऐन अनुसार सहकारीले अझै धेरै काम गरी वर्तमान सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई सहयोग गर्नु पर्नेमा उहाँको जोड थियो । सो संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक उत्सव कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी नियमावली मन्त्रीपरिषद्बाट पास भइसकेकाले भाषा सम्पादन गरेर केही दिनभित्रै जारी हुने उल्लेख गर्दै धेरै सहकारी संस्थाहरु आन्तरिक सुशासनको अभावमा गुज्रिरहेकाले तिनलाई व्यवस्थापन गरी सहकारी संस्थाहरुलाई सुदृढ बनाउन यो नियमावली सहयोगी हुने विश्वस व्यक्त गर्नुभयो । सहकारी ऐनमा व्यवस्था भएका कुरालाई यो नियमावलीले कार्यविधि खुलाएर ब्याख्या मात्र गर्ने भएकाले सहकारी ऐनभन्दा पर गएर यो नियमावली नआएको उहाँको थप भनाई थियो । राष्ट्रिय सहकारी महासंघ लि.का पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले यस पाँचतारा साकोसले सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो। त्यसैगरी राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सह-अध्यक्ष सरोजकुमार शर्माले अन्य संघ/संस्थामा सम्मान लिनका लागि आवेदन दिनुपर्ने भएपनि पाँचतारा साकोसले व्यक्तिको योगदान राम्रोसँग मुुुुल्यांकन गरेर सम्मान गर्ने गरेकाले यसको सम्मान लिँदा अभियन्तालाई पक्कै पनि गर्व लाग्ने उल्लेख गर्नु हुदै मुलुकको समृद्धिको यात्रामा सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।त्यसैगरी राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले सहकारीको संख्यात्मक वृद्धिलाई गुणात्मकतातर्फ लैजाने बेला आएको उल्लेख गर्दै वित्तीय कारणले कुनै पनि संस्थालाई समस्यामा पर्न नदिन राष्ट्रिय सहकारी बैंक लि.ले पूँजी, क्षमता, सीप र प्रविधिका हिसाबले सबै संघ/संस्थालाई सहज वातावरण बनाउन आफू लागिरहेको बताउनुभयो ।
नेफ्स्कुनका अध्यक्ष डी.बी. बस्नेतले सहकारी मन्त्रालयले नेफ्स्कुनलाई पहिलो चरणमा २०० सहकारी संस्थाको आन्तरिक अवस्था अनुगमन गर्न अनुमति दिएपछि नेेेेफ्स्कुनले यस पाँचतारा साकोसको पनि अनुगमन गरेको र अनुगमन गर्दा यो संस्था नीति, विधि र प्रविधिमा चलेको पाइएको भन्दै सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न सुझाव दिनुभयो । नेफ्स्कुनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले ठूलो कारोबार गर्नेभन्दा पनि सहकारीको भावना अनुसार चल्ने संस्था समुदायको लागि चाहिने उल्लेख गर्दै सहकारीलाई गरिबी निवारण, रोजगारी सिर्जना र उत्पादन वृद्धिका साथै पीछडिएको वर्गको उत्थानको लागि जोड्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै सांसद घनश्याम खतिवडाले मुकुकको विकासका लागि सहकारी अपरिहार्य रहेको उल्लेख गर्दै सहकारीहरु नीति, विधि र प्रविधिमैत्री भई मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी अघि बढे मुलुकको गरिबी निवारणको लागि अरु कुनै निकाय नचाहिने विचार व्यक्त गर्नुुुुभयो। कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि.की सञ्चालक अमृता सुब्बाले विश्वका धेरै राष्ट्रले सहकारीबाटै आर्थिक तथा सामाजिक रुपान्तरण गरेको बताउँदै अरुहरुलाई सुखी बनाउन आफूहरुले स्वयंसेवकको रुपमा काम गरिराखेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. , दोलखाका अध्यक्ष यज्ञराज ढुंगेलले सहकारीकर्मीहरुले अरुको सन्तुष्टिको लागि काम गर्ने उल्लेख गर्दै शहर बजारमा रहेका धेरै संस्थाहरु सदस्य र समुदाय केन्द्रित नभएको अवस्थामा यस पाँचतारा साकोसले शहरी क्षेत्रमा रहेर पनि समुदायमा आधारित भएर संस्था चलाउन सकिन्छ भन्ने उदाहरण दिन सकेको बताउनुभयो । संस्थाका अध्यक्ष भोलानाथ पाठकले समाजमा एकले अर्कालाई सम्मान गर्ने परिपाटीको क्षयीकरण भइरहेको अवस्थामा सहकारी क्षेत्रमा लागेका अग्रजहरुलाई सम्मान गर्न यस प्रकारको कार्यक्रम हरेक वर्ष गर्दै आएको बताउनुभयो । “कतिपय सहकारी अभियन्ताहरुले केन्द्रीय संघले गर्ने काम प्रारम्भिक संस्थाले किन गरेको भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै राम्रो काम अन्तर-आत्मादेखि जसले गरे पनि हुन्छ” उहाँँले भन्नुभयो । सहकारीलाई बचत तथा ऋण कारोवारमा मात्र सिमित नगरी समाजका हरेक गतिविधिमा जोडेर हाम्रो यस पाँचतारा साकोस अगाडि बढिरहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा सहकारीको कमी-कमजोरीलाई औंल्याउनुको साटो आन्तरिक रुपमा छलफल गरी सहकारी क्षेत्रका समस्या निराकरण गर्नु पर्नेमा उहाँको जोड थियो । हाम्रो यस संस्थाको रु. ६ करोड शेयरपूँजी, रु.३५ करोड बचत, रु.३६ करोड ऋण लगानी , रु.५ करोड जगेडा तथा अन्य कोषहरु रहेको उहाँको थप भनाई थियो ।
संस्थाका उपाध्यक्ष किरणप्रसाद श्रेष्ठले स्वागत मन्तव्य गर्नु भएको सो वार्षिक उत्सव समारोहमा उप-सभामुख डा. तुम्बाहाम्फेले सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउनु भएका जनसचेतन बचत तथ ऋण सहकारी संस्था लि. , दोलखाका अध्यक्ष यज्ञराज ढुंगेललाई पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान , २०७६ बाट सम्मान गरी रु.१० हजार नगद सहित ताम्रापत्र प्रदान गर्नुभयो । त्यस अवसरमा सो संस्था र जेष्ठ नागरिकहरुको आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण-पत्र प्रदान गरी सम्मान गर्नुका साथै सो संस्थाले प्रकाशन गरेको पाँचतारा स्मारिका र नव वर्ष २०७६ को क्यालेण्डर विमोचन गरिएको थियो ।