छेस्काम प्रहरी चौकी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कब्जा गरे भन्ने समाचारको भएन पुष्टि

हिजो राती सोलुखुम्बु जिल्लाको महाकुलुङ्ग गाउँपालिका – ३ , छेस्काम प्रहरी चौकी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले ५ घण्टासम्म कब्जा लिएको र उनीहरूले आक्रमण गर्दैछन् भन्ने सूचना अगाडि नै पाएकोले प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहेको ७ जनाको प्रहरी टोली हतियार बोकेर रुखमा बसेर रात बिताएको समाचार सञ्चार माध्यममा प्रकाशन / प्रशारण भएको थिए तर त्यसको पुष्टि भने हुन सकेको छैन । शंखुवासभा र सोलुखुम्बुको सीमानामा रहेको सो चौकी सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरीबाट ३ दिनको पैदल दुरीमा पर्दछ भने त्यहाँसम्म पुग्ने गाडी गुढ्ने सडक पुगेको छैन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको त्यस आसपासका क्षेत्रमा गतिविधि बढेपनि सो चौकी कब्जामा लिएको भने नदेखेको स्थानीयबासीले बताएका छन् । यता सो दलका कार्यकर्ताहरुले आफूहरू उक्त चौकी कब्जा गर्न गएको भएपनि त्यस समयमा हतियार बोकी सबै प्रहरी चौकी छाडेर हिडेकाले आफूहरुको योजना विफल भएको भन्ने समाचार सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशन / प्रशारण भइरहेबेला सो दलका नेता खड्गबहादुर विश्वकर्माले आफ्नो दलको सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति नभएको भनाई सञ्चार माध्यममा प्रकाशन भएको छ ।
विकट रहेको त्यस क्षेत्रमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधि बढेसँगै त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाएको स्थानीय प्रशासन र सुरक्षा निकायले जनाएका छन्।