यशोधर साकोसको ५ दिने तीर्थ भ्रमण सम्पन्न

ललितपुरको बुबाहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष बाबुराज बज्राचार्यको नेतृत्वमा सो संस्थाको ३० सदस्यीय टोलीको ५ दिने तीर्थ भ्रमण सम्पन्न भएको सो संस्थाका सचिब सुनिल रत्न बज्राचार्यले बताउनु भएको छ ।
यही जेठ १७ गते देखि २१गतेसम्म भएको भ्रमणका क्रममा सो टोलीले म्याग्दी सदरमुकाम बेनीमा रहेको गलेश्वर महादेवको मन्दिर , मुस्ताङको मुक्तिनाथ मन्दिर , बागलुङको कालिका मन्दिर , पोखराको तालबराही मन्दिर , गुप्तेश्वर महादेव मन्दिर र शान्ति स्तूपमा दर्शन गर्नुका साथै तथा बागलुङको विहारमा भजन गरेको थियो भने मुस्ताङको मार्फा मुस्ताङकै जोमसोममा रहेको धोम्बा ताल , पोखराको फेवा ताल , रुपाताल , डेबिडफल र तनहुँको बन्दिपुरमा अवलोकन भ्रमण गरेको बताइएको छ । सो भ्रमण टोलीमा नेफ्स्कूनका सञ्चालक सदस्य नानीकाजी शाक्य र सहकारीविद तथा ललितपुरको त्यागलमा रहेको स्कोप बचत तथा ऋण सहकारी संस्था लि. का भूतपूर्व अध्यक्ष अनिलवीर बज्राचार्य पनि सहभागी हुनु भएको आयोजकको भनाई छ ।
तपाईहरुको तीर्थ भ्रमण कस्तो रह्यो भन्ने सहकारी सञ्जालको जिज्ञाशाको जवाफमा उक्त भ्रमण टोलीका सदस्य तथा यशोधर बचत तथा ऋण सहकारी संस्था लि. बुबाहाल , ललितपुरका सचिव सुनिलरत्न बज्राचार्यले ‘हाम्रो तीर्थ भ्रमण राम्रो भयो र सो भ्रमण टोलीमा सहभागी सबै जना खुशी हुनुहुन्छ’ भन्नुभयो । आउदो असारको पहिलो हप्तामा हाम्रो यस संस्थाको आयोजनामा यस संस्थाका सदस्य रहनु भएका जेष्ठ नागरिकहरुलाई ललितपुरको टौखेल विहारमा अवलोकन भ्रमण गराउने कार्यक्रम रहेको उहाँको भनाई छ ।
गत आर्थिक वर्षमा शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको सो संस्थाको गएको बैशाख मसान्तसम्म शेयर सदस्य ४४१ जना , शेयर पूँजी रु. ४२ लाख २४ हजार ७ सय , निक्षेप संकलन रु. ५ करोड २ लाख १२ हजार ८ सय २४ , कर्जा प्रवाह रु.५ करोड ३५ लाख ८५ हजार ४८ र कूल कारोवार रु. ६ करोड ४४ लाख २८ हजार २ सय ६८ रहेको उक्त संस्थाका सचिब बज्राचार्यको भनाई छ ।