मैले बुझेको सहकारी

– योगेन्द्र चौलागाइँ , व्यवस्थापक , पानी टयांकी सहकारी संस्था लि. , न्युरोड– २४, काठमाण्डौ
नेपाली समाजको परापूर्वकालदेखि नै चल्दै आएको सापटी , पर्म , ढिकुटी , गुठी आदि व्यवस्थालाई विधिवत र संस्थागत रुपमा सञ्चालन गरिएको संस्था नै अहिलेको सहकारी संस्था हो । सहकारी संस्था संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रुपमा नियन्त्रित व्यवस्था मार्फत आफ्ना समान आर्थिक , सामाजिक र सांस्कृतिक आवश्यकता पूर्ति गर्नका खातिर समाजमा सञ्चालित संस्था हो । सरकार र निजी क्षेत्रबाट सेवा पुग्न नसकेका दुर्गम स्थानहरुमा सहकारीहरुले स्थानीय स्रोत , साधन र जनशक्तिको प्रयोग गरी सेवा पु-याइरहेका छन् । सहकारी प्रणालीलाई आर्थिक तथा सामाजिक विकासको आधारको रुपमा विकास गर्ने र ग्रामिण विकासको उपयुक्त र प्रभावकारी माध्यमको रुपमा सहकारी प्रणालीलाई उपयोग गर्ने अन्तराष्ट्रिय प्रयासलाई नेपालमा समेत आत्मसाथ गर्ने क्रममा वि. स. २०१० सालमा तत्कालीन योजना विकास तथा कृषि मन्त्रालय अन्तर्गत सहकारी विभागको स्थापना भयो ।
सहकारी विभागको स्थापना पछि तत्कालीन श्री ५ को सरकारले सहकारी संघ/ संस्थाको स्थापना र सञ्चालन सम्वन्धी कार्य गर्न वि.स. २०१३ मा कार्यकारी आदेश जारी ग-यो । उक्त आदेशले दिएको अधिकार अन्तर्गत रही चितवनको बखानपुरमा वि.स. २०१३ चैत्र २० गते नेपालमा पहिलो पटक पाँचवटा सहकारी संस्थाको स्थापना भयो । चितवनको बखान सहकारीलाई नेपालको पहिलो सहकारी मानिन्छ । उक्त निर्देशिकापछि जारी भएका सहकारी संघ /संस्था ऐन २०१६ तथा नियमावली २०१८ तथा साझा संस्था ऐन २०४१ बमोजिम सहकारी विभागले संघ/ संस्थाको दर्ता , नियमन तथा प्रबर्द्धन लगायतका कार्यहरु गर्दै आएको छ । अन्तर्राष्ट्रिय मूल्य , मान्यता र सिद्धान्तलाई आत्मसाथ गरी सहकारी ऐन २०४८ जारी भयो र स्वःस्फूर्त रुपमा देशभरी सहकारी संघ /संस्थाहरुको विकास तथा विस्तार हुने वातावरण बन्यो । नेपालको अन्तरिम संविधान, २०६३ मा देशको समग्र आर्थिक विकासको लागि सरकार , सहकारी र निजी क्षेत्रलाई संयुक्त रुपमा परिचालन गर्ने संवैधानिक व्यवस्था समेत भएको छ । तत्पश्चात सहकारीको प्रबर्द्धन र विकासको लागि चारैतिर माहोल बन्यो । सबैमा सहकारीको आवश्यकता महसुस भयो । कतिपय मानिसहरुले आफ्नो आवश्यकता अनुरुप नियम , ऐन र कानुनको अधिनमा रही सहकारीको मर्म र भावना बुझी सहकारी खोले त कसैले लहै लहैमा सहकारी खोले । कसैले देखासिखीमा सहकारी खोले । कसैले सहकारीबाट मनग्य पैसा कमाई चाडै धनी बन्ने मनसायले खोले । कसैले विचौलियाको काम गर्न सहकारी खोले । कसैले व्यापार गर्न , राजनीति गर्न र सहकारीको वजेट तान्न त कसैले विभिन्न एन. जी. ओं तथा दात्री निकायको सहयोग पाउने मनसायले सहकारी खोले । तसर्थ: नियम र कानुनको अधिनमा रही सदस्य तथा समाजको हितमा काम गर्ने सहकारीहरु मौलाउदै र जनताको माया पाउँदै गए त तिनै होडबाजी र लहै लहैमा खोलिएका सहकारीहरु ओइलाउदै गए । तिनै होडबाजीमा सञ्चालित सहकारीहरुका कारण सिंगो सहकारी क्षेत्रले समाजमा बदनामीको संज्ञा पायो ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा ३५ (२) मा “सहकार , सहकारी र निजी क्षेत्रको माध्यमबाट मुलुकको अर्थतन्त्रको विकास गर्ने नीति राज्यले अवलम्वन गर्नेछ” भन्ने प्रावधान रहेको छ ।
हालसम्म मुलुकमा ३४,५१२ वटा प्रारम्भिक सहकारी संस्थाहरु, ६६ वटाभन्दा बढी जिल्ला सहकारी संघहरु, १५७ वटाभन्दा बढी विषयगत जिल्ला सहकारी संघहरु, १६ वटाभन्दा बढी विषयगत केन्द्रीय संघहरु, राष्ट्रिय सहकारी महासघ र राष्ट्रिय सहकारी बैंक लि. सञ्चालनमा छन् । सहकारीमा ६३ लाख भन्दा बढी नेपाली नागरिकहरु सदस्यको रुपमा जोडिएका छन भने यसमा ४० प्रतिशत भन्दा बढी महिला सहभागिताले पनि सशक्तिकरणमा सहकारीले योगदान पु-याएको देखिन्छ । महिलाले मात्र सञ्चालन गरेका सहकारी नै २५ सय भन्दा बढी रहेको पाइन्छ । हालसम्म नेपालको सन्दर्भमा भन्नु पर्दा सहकारीहरुको माध्यमबाट साढे ६ खरवको हाराहारीमा आर्थिक कारोवार भइरहेको छ । सहकारी संघ /संस्थाहरुमा १ लाखभन्दा बढी नेपाली नागरिकहरुले प्रत्यक्ष रोजगारी पाप्त गरिरहेका छन । सर्सती हेर्दा देशको शहरी क्षेत्रमा सहकारीहरुको अलिक चाप देखिएसँगै देशका ७७ वटै जिल्लाका हरेक स्थानमा सहकारीको धारणा विकसित भएको पाइन्छ ।
मुलुकको दिगो र समतामुलक आर्थिक विकास तथा अग्रगामी रुपान्तरणका लागि सवल र सक्षम प्रणाली कायम गर्नु सहकारी क्षेत्रको सफलता हो भने स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम रुपमा परिचालन गर्ने गरी सहकारीलाई अर्थतन्त्रको एक सवल स्तम्भको रुपमा विकसित गर्दै आर्थिक तथा सामाजिक विकासको राष्ट्रिय लक्ष्यमा योगदान पु-याउने दीर्घकालिन लक्ष्य लिएको छ ।
वास्तवमा सहकारी किन र कसका लगि भन्ने कुरा न सहकारी सञ्चालकहरुले नै बुझेर काम गरेका छन न त सहकारीबाट सेवा पाउनु पर्ने वर्गले नै कुरा उठाएका छन । न त सहकारीबाट सेवा पाहिरहेकाले नै कुरा उठाएका छन ।
क) सहकारी किन आवश्यक छ भन्ने कुरालाई बुँदागत रुपमा यसरी हेर्न सकिन्छ ।
१. स्थानीय स्रोत र साधनको परिचालन गर्नका लागि,
२.स्वरोजगार सिर्जना गर्नका लागि,
३.आय आर्जन गर्न,
४.व्यवसायको विकास गर्न,
५.सहज सेवा प्राप्त गर्न,
६.खनखाँचो टार्न,
७.विचौलियाहरुलाई विस्तापित गर्न,
८.महिला सशक्तिकरण गर्न,
९सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्नका लागि सहकारीको आवश्यकता पर्दछ ।
ख) सहकारी कसका लागि आवश्यक छ भन्ने कुरालाई बुँदागत रुपमा यसरी हेर्न सकिन्छ ।
अ. एकल व्यवसाय सञ्चालन गर्न नसक्नेका लागि,
आ. एकल आवश्यकता पूरा गर्न नसक्नेका लागि,
इ.न्यून आय तथा मध्यम आय हुने वर्गका लागि,
ई.राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पहँच नपुग्नेका लागि,
उ.आफ्ना आधारभूत आवश्यकता पूरा गर्न नसक्नेहरुका लागि सहकारीको आवश्यकता पर्दछ तर अहिलेको परिवेशलाई निहाल्दा सेवा पाउनु पर्ने वर्ग भन्दा पनि जसको पहँच र बोलवाला छ , उनीहरुले मात्रै सहकारी तथा बैक र वित्तीय क्षेत्रहरुबाट सेवा र सुविधा लिइराखेका छन । सहकारी क्षेत्रका कति राम्रा पक्षहरु छन त कति सुधार्नु पर्ने पक्षहरु पनि छन । स्थानीय बजारमा आर्थिक समस्याको समाधान र मझौला व्यवसायीहरुको स्तर उन्नतिका लागि सेवा प्रदान गर्दै आउनु , देशका युवा शक्तिलाई स्वदेशमै काम सिकाई , रोजगारीको अवसर दिनु , विभिन्न उद्देश्य बोकेका सहकारी संस्था मार्फत स्थानीय स्रोत र साधनको उपयोग गरी आयश्रोत बढाउन सहयोग पु-याउनु , काम गर्न छिटो र सजिलो हुनु राम्रा पक्ष हुन् भने अन्य सदस्यहरुको तुलनामा आफ्ना मान्छेहरुलाई बढी प्राथमिकता दिनु , सहकारी – सहकारी बीच समन्वय नहुनु , अस्वस्थ प्रतिस्पर्धा हुनु , निम्न आय भएका सदस्यहरुलाई ढिलो सेवा दिनु आदि जस्ता सहकारीका सुधार्नु पर्ने पक्ष हुन् ।
अन्यमा,
विश्वका हरेक समृद्ध र शक्तिशाली राष्ट्रहरुको निर्माणमा सहकारीको ठूलो भूमिका छ । हाम्रो जस्तो विकाशोन्मुख देशमा त झनै सहकारीको आवश्यकता छ । अझै पनि ३० प्रतिशत हाराहारीमा नेपाली जनताहरु गरिबीको रेखामुनि रहेका छन् । देशका सबै जनतामा सहकारीको समान पहँच पु-याई सबैले सहकारीको सिद्धान्त, ऐन , नियम र उचित व्यवस्थापन गरी सञ्चालन गर्न सकेमा विकासको गतिमा तिव्रता आउने थियो । त्यसपछि न त सरकारलाई नै दोष दिनु पर्दथ्यो न त सम्वन्धित निकायलाई नै । यतातिर सबैको ध्यान जान जरुरी छ ।
जय सहकारी ।