स्युचाटार साकोसले बचत फिर्ता नदिएपछि पीडित रवि क्षेत्रीद्वारा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा उजुरी

0 Shares

काठमाडौंको नागर्जुन नगरपालिकामा रहेको  स्युचाटार बचत तथा ऋण सहकारी संस्था लि.ले  लामो समयसम्म बचत फिर्ता नदिएपछि पीडित रवि क्षेत्रीले पुन: प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको ध्यानाकर्षण गराउनु भएको बताइएको छ । क्षत्रीले मंगलबार आफूले लामो समयसम्म सो सहकारी संस्थाबाट निक्षेप फिर्ता नपाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण शाखामा उजुरी गर्नु भएको छ ।
यस अघि पनि उहाँले  प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा उजुरी गर्नु भएको थियो । आफूले लामो समयसम्म निक्षेप फिर्ता नपाए पछि पुनः  उजुरी हाल्नु परेको रविको भनाई छ ।  सो सहकारीमा ६ वर्ष अघि दीलिपबहादुर क्षत्रीले रु.३ लाख रुपैयाँ निक्षेप जम्मा गर्नु भएको थियो तर उहाँको ०६९ साल जेठ ३ गते निधन भयो ।
उहाँँको निधन पछि निक्षेप फिर्ता लिन जानु भएका  छोरा रवी क्षेत्रीलाई उक्त सहकारीले रित्तो हात फर्काएको थियो । निक्षेप जम्मा गर्दा हकवालाको ठाउँमा लेखिएको रविको नाम काटेर अर्कै व्यक्तिको नाम लेखिएको बताइएको छ । निक्षेपको हकवाला अर्कै भएको दाबी गर्दै सो सहकारीले निक्षेप फिर्ता दिन मानेको छैन ।
उक्त सहकारीको रविले रकम फिर्ता माग्न थालेको ६ वर्ष बितिसकेको छ जनाइएको छ। लामो समयसम्म पनि निक्षेप फिर्ता नपाएपछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि राष्ट्रिय सूचना आयोग , सहकारी मन्त्रालय, सहकारी विभाग हुँदै डिभिजन सहकारी कार्यालयसम्म धेरैपटक धाउनुभयो। रविको गुनासो गृह मन्त्रालयदेखि रक्षा मन्त्रालयसम्म पुगिसकेको छ ।
यस सहकारी विरुद्ध कागजात किर्ते गरी निक्षेपकर्ताको निक्षेप फिर्ता नदिएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । किर्ते र ठगीको विषय बाहिर आएपछि सीआईबीले अनुसन्धान शुरु गरेको हो ।
हाल सम्बन्धित निकायबाट राय माग्ने काम भइरहेको सीआईबी प्रमुख डिआईजी निरजबहादुर शाहीले बताउनुभयो । अनुसन्धान तीव्र पारिएको बताउदै यही महिनाभित्र टुंगोमा पुगिने डिआईजी शाहीको भनाई छ।
निक्षेपकर्ताले रोज्ने हकवालाको ठाउँमा रवि क्षेत्रीको नाम काटेर रमा क्षेत्री भन्ने नाम लेखिएको छ । सहकारी संस्थाले केरमेट आफूले गरेको स्वीकार  गर्दै रविका बुवा दीलिप कै आग्रहमा केरमेट गरिएको उक्त सहकारी संस्थाले बताउदै आएको छ ।

(cns.coop.np को सहयोगमा तयार गरिएको )

Leave a Reply