७ बुँदे घोषणा-पत्र जारी गर्दै गण्डकी प्रदेश स्तरीय सहकारी युवा गोष्ठी सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना तथा पोखरा महानगरपालिका , कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र कास्की कोअरेटिभ म्यानेजर्स क्लव कास्कीको सहकार्यमा “आजको आवश्यकता , सहकारीमा युवा सहभागिता” भन्ने नाराका साथ एक दिवसीय गण्डकी प्रदेश स्तरीय सहकारी युवा गोष्ठी सातबुँदे साझा घोषणापत्र जारी गर्दै गएको शुक्रबार पोखरामा सम्पन्न भएको छ ।
सो गोष्ठीको गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले उद्घाटन गर्नु भएको थियो । सो गोष्ठिमा “गण्डकी प्रदेशको समृद्धीको आधार र सहकारीको भूमिका” विषयक कार्यपत्र पेश गर्नु हुँदै उहाँले देशको परिवर्तन र समृद्धिमा युवाको साथ र सहयोग महत्वपूर्ण हुने बताउनु हुदै सहकारीमार्फत युवालक्षित कार्यक्रम यस गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा स्पष्ट व्यवस्था गरिने धारणा व्यक्त गर्नु भयो । सहकारीमार्फत युवालाई नेतृत्वदायी जिम्मेवारी दिई उत्पादनमुखी , आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्न सकिने र यसबाट पर्यटन , उर्जा , कृषि , उद्योग , जनशक्ति लगायतको क्षेत्रमा काम गर्न युवाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो । त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक एवं गण्डकी प्रदेश सभासद प्रभा कोइरालाले बर्तमान सरकार सहकारी क्षेत्रबाट देशको समृद्धि र विकास गर्न सकिन्छ भनी अगाडि बढिरहेको बताउनुुुुभयो । स्थानीय सरकार र सहकारीको सहकार्यमा युवाको आवश्यकता , महत्व र उपलब्धी मूल्यांकन गर्ने गरी आत्मनिर्भर बनाउन सकियो भने मात्र देशको समृद्धि र अर्थतन्त्रमा परिवर्तन गर्न सकिने उहाँको भनाई थियो । सो अवसरमा राष्ट्रिय युवा परिषद्कका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सबै जनताहरु सहकारीमा आबद्ध भएमा मात्र राज्यको नीति बदल्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । राज्यबाट ल्याइएका नीति तथा कार्यक्रम प्रभावकारी नभएको अवस्थामा त्यसलाई प्रभावकारी बनाई कार्यान्वयन गराउन सक्ने तागत सहकारीमा मात्र भएको र देशको भ्रष्ट्राचार नियन्त्रणका लागि सहकारीको माध्यमबाट युवालाई अघि सार्नुपर्ने उहाँको भनाई थियो ।
नेफस्कूनका अध्यक्ष डी.बी. बस्नेतले युवाउद्यम , आत्मनिर्भरता र समाजलाई समृद्ध बनाई विकास गर्न सकिन्छ भन्ने सोच विकास हुनुपर्नेमा जोड दिनु हुदै अरुले गरिदिएन भन्ने नकारात्मक सोचका कारण युवा पछाडि परेकोले काम गर्ने ईच्छा , जोश र जाँगर भएमात्र युवामा आत्मनिर्भरताको लहर आउने बताउनुभयो । यसैगरी नेफस्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले युवालाई विकासको केन्द्रमा राखी सामाजिक रुपान्तरणको मूल प्रवाहमा सहभागिता , अख्तियार र शक्तिको हस्तान्तरण र युवा दक्षताको प्राविधिक उपयोग गर्नुपर्ने बताउनुभयो ।
पोखरा महानगरपालिकाका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले युवालाई सहकारी मार्फत अगाडि बढाउने लक्ष्य पोखरा महानगरले राखेको बताउनुभयो । चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत एवं नेफ्स्कून साकोस म्यानेजर्स क्लबका नि:वर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठले सहकारीमा युवाको भविष्य , सम्भावना र चुनौति , युवा वैज्ञानिक विराज भण्डारीले युवा वैज्ञानिकको विकास र दृटि र नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले युवाको सशक्तिकरण मार्फत वित्तीय समावेशीकरण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेफ्स्कूनका सञ्चालक एवम् गण्डकी प्रदेशका संयोजक भीमबहादुर गुरुङले नेफ्स्कूनको विषयमा जानकारी गराउनुभएको थियो ।
गोष्ठिको अध्यक्षता नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल , सञ्चालक चण्डीप्रसादशर्मा पौडेल , जिल्ला सहकारी संघ लि. , कास्कीका अध्यक्ष रविरमण तिवारी र सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले पालैपालो गर्नुभएको थियो भने नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य एवं गोष्ठीका संयोजक दीपक पनेरुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेफ्स्कूनका सञ्चालक सदस्य चण्डीवप्रसाद शर्मा पौडेल , कोओपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मिलन ढकाल , कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष सुदीप ढकालले उक्त गोष्ठिको सहजीकरण गर्नु भएको थियो ।
२०० जना युवा सहकारीकर्मीहरु सहभागी उक्त गोष्ठिबाट निम्नानुसारको ७ बँदे साझा प्रतिबद्धता पत्र जारी गरिएको छ ।
१. नेतृत्वमा युवाहरुको प्रतिनिधित्व गर्नको लागि प्रत्येक सहकारी संस्थाहरुले आ–आफ्नो संस्थामा एक युवा उप-समिति गठन गर्नेछौं ।
२. युवा सदस्यहरुको आवश्यकता , क्षमता र सम्भावनाको पहिचान गरी सहकारीद्वारा युवा लक्षित विशिष्टिकृत वस्तु तथा सेवाहरु विकास गरी युवा सहभागीता अभिबृद्धि गर्नुको साथै युवा सदस्यहरुलाई वित्तिय साधनहरु परिचालन गर्नमा सक्रिय बनाउँने छौँ।
३. युवाहरुलाई सहकारीद्वारा प्रदान गरिने सेवामा आकर्षित गर्नको लागि प्रविधिमा आधारित सेवाहरुलाई प्रवर्द्धन गर्नेछौँ ।
४. राष्ट्रिय युवा नीति ,२०७२ मा उल्लेख भएको युवाको परिभाषालाई शंसोधन गरी १६ देखि ३५ वर्षको उमेर कायम गर्न र युवाहरुमा सहकारी सम्बन्धी चेतना अभिबृद्धि गर्न स्कुल तथा कलेजका पाठ्य सामग्रीमा सहकारीको विषयलाई समावेश गर्न राज्यका सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउने।
५. युवाहरुहरुलाई स्वरोजगार बनाउन सामुहिक लगानी , उद्यमीलता विकासका सीपमुलक कार्यक्रमका साथै वित्तिय व्यवस्थापन औजारहरु प्रदान गर्नेछौँ।
६. युवाहरुद्वारा आविष्कार तथा सृजना गरिएका नवीनतम प्रविधिहरु सहकारी मार्फत प्रवर्द्धन गर्ने ।
७. सहकारी मार्फत युवा सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नको लागि विभिन्न सरकारी तथा गरैसरकारी निकायहरुसंग समन्वय तथा सहकार्य गर्ने ।