९७औँ अन्तर्रराष्ट्रिय सहकारी दिवस मनाइदै

आज ९७औँ अन्तर्राष्ट्रिय सहकारी दिवस । अन्तर्राष्ट्रिय सहकारी संगठनले सन् १९२३ बाट यो दिवस मनाउन थाल्यो भने संयुक्त राष्ट्र संघले यसलाई सन् १९९५ मा मान्यता दियो ।
संसारभरका सहकारीकर्मीहरुले कतै उत्सव त कतै आन्दोलनको रुपमा यो दिवस मनाइरहेका छन् । नेपालमा भने आन्दोलन कै रुपमा यो दिवस मनाइदै छ । यो दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.ले आज दिउसो ललितपुरको कुपण्डोलस्थित हिमालय होटलमा कार्यक्रम गर्दैछ भने विभिन्न सहकारी संघ/संस्थाहरुले विभिन्न कार्यक्रमहरु तय गरेका समाचार प्राप्त भएका छन् ।
९७ वर्ष अगाडिबाट अघि बढेको सहकारी अभियान यतिबेला विश्वव्यापी बन्दै गएको छ । सहकारीका माध्यमबाट संसारका धेरै देशहरुले प्रगतिको फड्को मारेका छन् । पूँजीवादी व्यवस्थाले व्यक्तिलाई समाजप्रति मतलव नगर्ने , स्वार्थी र उपभोक्तावादी बनाउदै लगिरहेको अवस्थामा सहकारीले व्यक्तिलाई समाजप्रति उत्तरदायी बनाउदै सामुहिक उत्पादन पद्धतीको विकास गर्ने दिशातर्फ अगाडि बढाउन खोजेको देखिन्छ । जुन -जुन देशमा विकास र आर्थिक समृद्धि भएको छ , त्यहाँ सहकारीको कुनै न कुनै योगदान देखिने गरेको छ ।
नेपालमा भने २०१३ सालबाट संस्थागत ढंगले सहकारीको विकास शुरु भयो तर यसको बाक्लो र प्रभावकारी विकास र विस्तार भने २०४६ पछि मात्रै भयो । २०६२/०६३ को ऐतिहासिक जन आन्दोलनपछि निर्माण भएको संविधानसभाले बनाएको नेपालको संविधान , २०७२ मा नेपालको राष्ट्रिय अर्थतन्त्रको तीन खम्बामध्येको तेस्रो खम्बाको रुपमा सहकारीलाई उल्लेख गरियो तर व्यवहारमा भने यो अरु २ खम्बाको तुलनामा अझै कमजोर नै छ । यसको विकास गर्दै यसलाई राष्ट्रिय अर्थतन्त्रका अरु दुई खम्बा जत्तिकै बलियो बनाउन आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् । ९७ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी सञ्जाल परिवार संसारभर सहकारी अभियान जोडिनु भएका सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।