९७औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यक्रम सम्पन्न , ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि. उत्कृष्ट पुरस्कार – २०७५ बाट सम्मानित

विगतका वर्षहरुमा झैं यस वर्ष पनि ‘मर्यादित कामका लागि सहकारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ९७औँ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । यसै अवसरमा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय , राष्ट्रिय सहकारी महासंघ लि. र यूएनडीपीको संयुक्त आयोजनामा हिजो हिमालय होटल कुपण्डोल , ललितपुरमा कार्यक्रम सम्पन्न भयो । सो अवसरमा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा शुसासन , कृषिको रुपान्तरण र उत्पादन बृद्धिको निम्ति सहकारीको एकीकरण अपरिहार्य भएको बताउनुभयो ।
उद्यमशिलता विकास र युवा तथा महिला सहभागीता बृद्धिलाई सहकारीले जोड दिनुपर्ने मन्त्री अर्यालको भनाई थियो।
उक्त अवसरमा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मर्यादित समाज निर्माणका लागि सहकारीको भूमिका महत्वपूर्ण हुनुका साथै सहकारीमा प्रत्यक्ष रुपमा सदस्य आफै समस्या समाधानकर्ता रहेको बताउनुभयो ।
सहकारी स्वयम् मर्यादामा रहनुपर्ने संस्था भएकोले सहकारी समाजलाई रुपान्तरण गर्ने गेमचेन्जरका रुपमा रहेको उहाँको कथन थियो ।
त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष केशवप्रसाद बडालले सहकारी सामाजिक व्यवसाय हो भन्नुहुँदै मर्यादित काम सिर्जना गर्न सहकारीले युद्धस्तरमा काम गरेको र आगामी दिनमा अझै सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सहकारीले सदस्यहरूलाई सेवा दिने भएतापनि संघ/संस्था सञ्चालन र क्रियाशिलताका लागि आत्मनिर्भर हुन मुनाफा आर्जन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सहकारी सदस्यहरूद्धारा स्वेच्छिक रूपमा गठन र सञ्चालन हुने भएकोले आवश्यकता र जागरणका आधारमा गठन हुदै जाने उहाँको भनाई थियो । त्यस अवसरमा यूएनडीपीका आवासीय प्रतिनिधि आइसियानी लावेले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीले महत्वपूर्ण योगदान दिने बताउँदै नेपालमा ५ सयभन्दा बढी सहकारी र विभिन्न मन्त्रालयसँग सहकार्य गरेर स्थानीय तहमा काम गरिरहेको जानकारी दिनुभयो । सहकारी अर्थतन्त्रको मुख्य आधार भएकोले सहकारीलाई महत्व दिएको नेपालको संविधान, २०७२ विश्वका लागि उदाहरणीय रहेको उहाँको भनाई थियो।
उक्त अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङले सहकारी नेपालको स्थानीय अर्थतन्त्रको मूल आधार र मेरुदण्ड रहेको हुँँदा १५ औं योजनाको अवधारण-पत्रमा समृद्ध नेपाल र सुखी नेपालीका लागि मापन गर्ने आधार समेत तयार गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयकी सह- सचिव चन्द्रकला पौडेलले मर्यादित कामका लागि सहकारी विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस अवसरमा पूर्व मन्त्री गणेश शाह, राष्ट्रिय सहकारी सहकारी महासंघ लि.का भूतपूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटा , सो महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल , उपाध्यक्ष तथा आईसिए ग्लोवल वोर्ड सदस्य ओमदेवी मल्ल र सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डेले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।
नेपालमा हाल करिब ३५ हजार सहकारी संघ/संस्थाहरु सञ्चालनमा छन् । ६३ लाख जनसख्यां यो अभियानमा जोडिएको र यसले ६० हजारलाई रोजगारी दिएको छ । कुल महिला जनसख्याको २३ प्रतिशत महिला सहकारीमा आवद्ध रहेको तथ्यांकले देखाएको छ ।
ललितपुर बहुउद्देश्यीय सहकारी संघ लि. उत्कृष्ट सहकारी पुरस्कार–२०७५ बाट पुरस्कृत
राष्ट्रिय सहकारी महासंघ लि.ले ९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवस तथा राष्ट्रिय सहकारी महासंघ लि. को २६औँ स्थापना दिवसको अवसरमा ललितपुर बहुुुुउद्देश्यीय सहकारी संघ लि. उत्कृष्ट सहकारी पुरस्कारबाट सम्मानित भएको छ । त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले ललितपुर बहुउद्देश्ययीय सहकारी संघ लि. का अध्यक्ष शरदकुमार महर्जनलाई रु.२० हजार नगद तथा प्रशंसा-पत्र प्रदान गर्नुभयो ।
६२औं राष्ट्रिय सहकारी दिवसका अवसरमा घोषित सम्मान तथा पुरस्कार राष्ट्रिय सहकारी महासंघ लि.को २६औँ स्थापना दिवसको अवसरमा प्रदान गरिएको उक्त महासंघले जनाएको छ । विधागत रुपमा छनौट भएका प्रारम्भिक संस्था तथा विषयगत संघहरुलाई सो महासंघले पुरस्कृत गरेको जनाएको छ ।