विप्लव नेतृत्वको नेकपा र प्रहरी बीचको भिडन्तपछि भोजपुर सदरमुकाममा सुरक्षा व्यवस्थामा कडाई
हिजो विहान ८: ४५ बजेतिर भोजपुर सदरमुकामस्थित शनिवारे हटिया नजिकैको पान्धारे होटलमा प्रहरी र नेत्रविक्रम चन्द ‘ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बीच भिडन्तपछि भोजपुर सदरमुकामको सुरक्षा व्यवस्थामा कडाई गरिएको जनाइएको छ । सो मिडन्तका क्रममा खोटाङ घर भएका घुमुवा प्रहरी जवान सञ्जिव राई र भोजपुरकै षडानन्द नगरपालिका ओयाक घर भएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ओखलढुङ्गा इन्चार्ज निरकुमार राईको मृत्यु भयो भने सोम भट्टराई सहित ३ जना प्रहरी घाइते भएका थिए । घटनास्थलबाट प्रहरीले एउटा चाइनिज पेस्तोल र ४ राउण्ड गोली बरामत गरेको जनाएको छ । सो घटनाको बारेमा विप्लव नेतृत्व धारणा प्राप्त भएको छैन ।
यता संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाली काँग्रेसकी सांसद डिला संग्रौला पन्तले सो घटनाबारे प्रष्ट पार्न आग्रह गरेपछि नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले उक्त समितिमा सो घटनाबारे प्रष्ट पार्ने सन्दर्भमा भोजपुर नगरपालिका – ७ , हटिया चोक छेउमा डिउटी रहेका प्रहरी माथि विप्लव नेतृत्ववको नेकपाका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले गोली चलाउनु परेको र गोली हानाहान हुँदा घाइते भएका प्रहरी जवान
सञ्जिव राई र विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज निरकुमार राईलाई उपचारका लागि अस्पताल पु-याउदा अस्पतालले उहाँहरु दुबैलाई मृत घोषणा गरेको साथै सो घटनामा घाइते भएका सोम भट्टराई सहित ३ जना प्रहरीहरुको भोजपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ र त्यहाँबाट भाग्न सफल सो समूहका ४/५ जना कार्यकर्ता भागेकाले तिनको खोजी भइरहेको बताउनु भएको थियो ।
यता उक्त घटनाको बारेमा फरक – फरक समाचार सार्वजनिक भइरहेको छ । यसले सो घटनाप्रति आंशका जन्माएको छ ।
नेपाली काँग्रेसले सो घटनाको बारेमा प्रष्ट पार्न सरकारसँग माग गरिरहेको छ । उसले सरकारले विप्लव नेतृत्वको नेकपा माथि प्रतिबन्ध लगाएपछि यस खाले घटना बढिरहेका उल्लेख गर्दै सरकारले शान्ति सुरक्षाका नाममा र विप्लव नेतृत्वले क्रान्तिका नाममा गरिने हत्या , हिंसाजन्य क्रियाकलाप मान्य नहुने बताएको छ । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका प्रतिपक्षी दलहरु मात्रै नभई
नेपाल सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कतिपय नेता – कार्यकर्ताहरुले ओली सरकार र नेत्रविक्रम चन्द ‘विप्लव ‘ नेतृत्वको नेकपा वीच वार्ता र संवादका माध्यमबाट समस्याको निकाश निकाल्न जोड दिइरहेका छन् ।