सिद्धान्तनिष्ट , इमान्दार र जुझारु कम्युनिष्ट क्रान्तिकारीहरु पुन: एकजुट हुनुको विकल्प छैन

-राजेश बान्तवा , नेता , नेपाल कम्युनिष्ट पार्टी
राजेश बान्तवा नेपाली कम्युनिष्ट आन्दोलनभित्रका एक इमान्दार , कर्मठ , जुझारु , अध्ययनशील र सर्वहारा संस्कृतिलाई आत्मसाथ गर्दै निरन्तर अगाडि बढिरहेको कम्युनिष्ट योद्धाको रुपमा चिनिनुहुन्छ । २०३० सालमा नेपाली कम्युनिष्ट आन्दोलनभित्रको झापाली समूह , जो २०३२ सालमा अखिल नेपाल कम्युनिष्ट को-अर्डिनेशन केन्द्र हुदै २०३५ सालमा नेकपा (माले) बनेको थियो , मा संगठित भई नेपालको कम्युनिष्ट आन्दोलनमा लाग्नुभयो उहाँ । त्यसबेलादेखि अहिलेसम्म उहाँ निरन्तर कम्युनिष्ट आन्दोलनमा क्रियाशील हुनुहुन्छ । नेपालको कम्युनिष्ट आन्दोलनमा भएको टुट , फुट र बिभाजनबाट उहाँ पनि टाढा रहन सक्नु भएन । २०७६ जेठ ३० गते उहाँले नेतृत्व गर्नु भएको वामपन्थी मञ्च , नेपालको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता भयो । सो एकता तथा समसामयिक विषयमा उहाँसँग सहकारी सञ्जालले कुराकानी गरेको छ । जो यस प्रकार छ ।
१. तपाई नेतृत्वको वामपन्थी मञ्च , नेपालको नेपाल कम्युनिष्ट पार्टीसँग एकीकरण गर्नुको औचित्य पुष्टि गर्ने आधार के छ ?
~ नेपालको कम्युनिष्ट आन्दोलन स्थापित भएको शुरुको दशकदेखि नै विभाजन र पुनर्गठन हुँदै आएको इतिहास छ । तत्कालीन अवस्थादेखि सैद्धान्तिक तथा वैचारिक ढंगले दक्षिणपन्थी औसरवाद र उग्रवामपन्थी भड्काव विरुद्ध तीखो बैचारिक संघर्ष गर्नु परेको थियो । बर्तमानमा पनि यो विचारधारात्मक संघर्ष जारी छ । यसै सन्दर्भमा नेकपा (माओवादी केन्द्र) र नेकपा(एमाले) बीच अप्राकृतिक रुपमा पार्टी एकता भएको छ । मूलत: यो एकता आत्मसमर्पणवादी विसर्जनवाद हो भन्दा अत्युक्ति हुदैन । तसर्थ: विद्यमान वाम राजनीतिमा कम्युनिष्ट क्रान्तिकारी र संसदवादी ठ्याक्कै दुई धुर्वमा उभिएको अवस्था छ । यस राजनीतिक परिप्रेक्षमा नेपाली क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सिद्धान्तनिष्ट , इमान्दार र जुझारु कम्युनिष्ट क्रान्तिकारीहरु पुन: एकजुट हुनुको विकल्प छैन । यसै महान उद्देश्यलाई पूर्णता दिन एकता गरिएको हो ।
२. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले क्रान्तिको आवश्यकता छैन, अब आर्थिक समृद्धिमा लाग्नुपर्छ भनिरहेको बेला तपाईहरु चाहिँ जनसंघर्ष र जनविद्रोहको कुरा गरिरहनु भएको छ नि ?
~ सरकारी नेपाल कम्युनिष्ट पार्टी अब कम्युनिष्ट रहेन । उसले केवल कम्युनिष्ट पार्टीको व्यानर ट्रेडमार्कको लागि मात्र प्रयोग गरिरहेको छ । यतिभन्दा हुन्छ – उनीहरु संसदवादी सुधारवादी हुन् । उनीहरु भन्छन् – पूँजीवादी जनवादी क्रान्तिको चरण पूरा भयो र समाजवादी चरणमा आइपुगियो । यो भन्नु भ्रम फैलाउनुभन्दा अन्य केही होइन । पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भएकै छैन । कसरी यो चरण पूरा भयो ? अर्को तर्फ जब पूँजीवादी क्रान्ति पूरा हुदैन , समाजवाद आउने त कुरो नै हुदैन । सामन्तवादी अवशेष रहिरहनु भनेको नोकर तथा दलाल पूँजीवाद यथावत रहनु हो । अहिले प्रधान अन्तर्विरोध यसैसँग सम्बन्धित बनिरहेको छ । यसर्थ पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्नको निमित्त जनसंघर्ष , जनविद्रोह र अन्य क्रान्तिकारी पथ अपनाउनु पर्ने हुन्छ ।
३. तपाईको विचारमा अबको वर्ग संघर्षको स्वरुप कस्तो हुन्छ ?
~आज प्रविधिको विकासले शोषणको रुप बदलिएको छ अर्थात बर्तमानको बस्तुगत ठोस परिस्थितिको ठोस विश्लेषण जान्नु पर्ने हुन्छ । सर्वहारा वर्गको राजनीतिक पार्टी कम्युनिष्ट पार्टीको नेतृत्वमा मजदुर किसान र अन्य तह र तप्काका श्रमिकहरुको संयुक्त मोर्चाको साथै जनवादी क्रान्तिको सहयोगी वर्ग भनेको राष्ट्रिय पूँजीपति वर्ग पनि हुन् । यिनीहरु पनि यही मोर्चामा अट्नेछन् र सामन्तवाद , जसको नेतृत्व तह मात्र ढलेको हो तर त्यसको जग हल्लिरहेको छैन र त्यसले टेवा दिइरहेको छ , दलाल तथा नोकरशाही पूँजीवादसँगको अन्तर्विरोध विद्यमान वर्गसंघर्षको कडीको रुपमा मान्न सकिन्छ ।
४. वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति कस्तो देखिरहनु भएको छ ?
~ अन्तर्राष्ट्रिय स्तरमा विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक नै छ । अमेरिकी साम्राज्यवाद र युरोपेली उच्च पूँजीवादीहरु साना , कमजोर र अल्पविकसित देशहरुलाई शोषण , उत्पीडन र हस्तक्षेप गरिरहेको कुरो नकार्न सकिदैन । अन्तर्राष्ट्रिय मुद्रा कोष खुल्ला बजार अर्थतन्त्र र बहुराष्ट्रिय निगमको माध्यमबाट अमेरिकाले आफ्नो भूमण्डलीकरण कायमै राखेको छ तर बर्तमान समयमा आएर चीनको आर्थिक बृद्धिदर बढेपछि ऊ लगभग विश्वको दोस्रो शक्ति राष्ट्रको रुपमा उपस्थित भएको छ । यो २१औँ शताव्दीमा आएर अमेरिकी भूमण्डलीकरण चूनौतिको रुपमा देखा परेको छ चीन। त्यसकारणले हाल अमेरिका र चीनको विश्व व्यापार युद्ध शुरु भैसकेर त्यो पेचिलो हुँदै गइरहेको छ । त्यस राजनीतिक परिप्रेक्षमा ब्रिक्स (BRICS) चीनको पहलमा गठन हुँदा अमेरिकालाई त्यसै पनि टाउको दुखाई भइरहेको बखतमा बेल्ट एण्ड रोड एसिएटिभ (Belt and Road Inseative) चीनको प्रस्तावित व्यापारिक मार्ग रोक्न अमेरिकाले इण्डोप्याफिकलाई अगाडि सारेको छ र त्यसको मुख्य अड्डा नेपालमा राख्न चाहन्छ । उत्तर कोरिया , भेनेजुयला , सिरिया र इरान लगायतका देशहरुमा अमेरिकाले हस्तक्षेप गरेको दुनियाले देखेकै छन् । अमेरिकाले आफ्नो भूमण्डलीकरण बचाई राख्न युद्ध चाहिरहेको छ ।
५. तपाईले संगठित र प्रशिक्षित गर्नु भएका व्यक्तिहरु राज्यको उपल्लो तहका जिम्मेवारीमा पुग्दा पनि तपाईको अवस्था त उस्तै छ नि ?
~ त्यसलाई म उपल्लो र उच्च ठान्दिन । अब्बल त्यो हो , जसले नेपाली क्रान्तिलाई सफल र सम्पन्न गर्न निरन्तर लागिरहेको छ । आबश्यक परे देश , जनता र क्रान्तिको निमित्त आफ्नो जीवन दिनु परोस् । त्यसलाई म उच्च र महान मान्छु ।
६. बर्तमान राजनीतिको बारेमा तपाई के भन्नुहुन्छ नि ?
~ बर्तमानमा नेपालको वाम आन्दोलनमा फेरि एक पटक कम्युनिष्ट क्रान्तिकारी र संसदवादी आत्मसमर्पणवादी दवावको ध्रुवीकरण भएको छ । दुई तिहाई बहुमत भएपनि यो सरकारले केही गर्न सक्ने छैन किनभने यसले उल्टो यात्रा गरिरहेको छ । यसबाट गन्तब्यमा पुग्ने कुरै भएन । जसरी भारतमा मार्क्सवादीहरु हालैको भारतको लोकसभा निर्वाचनमा निमिट्यान्न भएका छन् किनभने उनीहरु पूर्ण रुपमा संसदवादी थिए र छन् । तसर्थ: अब नेपाली क्रान्तिले कुनै वैकल्पिक पथ निश्चित गरेर अग्रगमनतर्फ उन्मुख हुन्छ ।
७. तपाईको राजनीतिक जीवन बारे संक्षिप्त रुपमा बताई दिनुहुनाछ कि ?
~ २०३० सालमा नेपाल कम्युनिष्ट पार्टी को-आर्डिनेशन केन्द्र कालदेखि निरन्तर क्रान्तिको अग्रपङ्तीमा उभिदै आएको छु । त्यही को.के. कालमा राजकाज मुद्धामा ३ वर्ष जेल सजाय र पटक -पटक गिरफ्तार हुँदै छुट्तै आएँ । २०३५ सालमा नेकपा (माले) गठनदेखि यस पार्टीको सुनसरी जिल्ला कमिटी सचिव र क्षेत्रीय समन्वय समिति सदस्य रहेर काम गरेँ । २०३७ सालमा सुनसरीदेखि सरुवा भएर धनकुटा , तेह्रथुम र शंखुवासभाको पार्टी इञ्चार्ज भएर २०४६ सालसम्म पार्टीको काम गरेँ । २०४६ सालमा ल्याइएको म संगठित पार्टीको कार्यदिशा – बहुदलीय जनवादको घोर विरोध र नयाँ जनवाद हुनुपर्दछ भनेर जोडबल लगाएँ । त्यसयता मलाई पार्टीको जिम्मेवारीबाट पाखा लाउने काम भयो । नेकपा (एमाले) को छैटौँ महाधिवेशन लगत्तै सो पार्टी विभाजन हुँदा बामदेव गौतम नेतृत्वको नेकपा (माले) र बामदेवहरुको नेकपा (एमाले) मा पुनरागमन पछि सी.पी. मैनाली नेतृत्वको नेकपा (माले) हुँदै नेकपा (एकीकृत) र एनेकपा (माओवादी) मा रहेर काम गरेँ । एनेकपा (माओवादी) को हेटौडा महाधिवेशनको कार्यदिशासँग सहमत हुन नसकेपछि त्यो कार्यदिशाप्रति असहमत हामीले गठन गरेको वामपन्थी मञ्च ,नेपालमा रहेर काम गरियो । एक महिना अगाडि हामीले नेपाल कम्युनिष्ट पार्टीसँग वामपन्थी मञ्च , नेपालको एकता गरेका छौं ।