त्रि.वि. शिक्षण अस्पतालमा पुन: कलेजो प्रत्यारोपण

करिव २ महिना अघि भारतको एपोलो अस्पलका चिकित्सकहरुको टोलीको सहयोगमा पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हिजो पुन: कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको सो अस्पतालले जनाएको छ । उक्त अस्पतालका कलेजो रोग विशेषज्ञ प्रा. डा. रमेश भण्डारीको नेतृत्वमा चिकित्सक तथा नर्सहरुको टोलीले उक्त प्रत्यारोपण गरेको थियो । त्यस क्रममा भारतको राजधानी नयाँ दिल्ली स्थित फोर्टिज अस्पतालका वरिष्ठ सल्य चिकित्सक डा. विवेकको विजले टोलीले सहयोग गरेको थियो । हिजो विहान ७:०० बजे शुरू गरिएको कलेजो प्रत्यारोपण कार्य अपरान्ह ३:३० बजे सकिएको थियो । ४४ वर्षीय विरामीको सो कलेजो प्रत्यारोपण लागि उहाँका नातामा ज्वाइ पर्ने २८ वर्षे युवाले कलेजो दान गर्नु भएको बताइएको छ । उहाँहरु दुबैको अवस्था सामान्य रहेको बताइएको छ । विश्व मै जटिल मानिने गरिएको कलेजो प्रत्यारोपण कार्य नेपालमा २०७३ सालमा भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले पहिलो पटक गरेको थियो ।
मदिरा , हेपटाइटिस इन्फेक्सन , कलेजोमा बोसो जमेर हुने दीर्घकालीन असर र थाहा नहुने रोगका कारण कलेजो ड्यामेज हुने अवस्था आउने गरेको विशेषज्ञहरुको भनाई छ ।