सबै बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुलाई ढुक्क भएर काम गर्न आग्रह गर्दछु

– माधव तिमिल्सिना , सचिव , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.
वि.सं. २०७७ असोजसम्ममा बचत तथा ऋण सहकारी संघ/संस्थाहरु बाहेकका बहुउद्देश्यीय सहित विषयगत सहकारी संस्थाहरुले दर्ता हुँदाको उद्देश्य अनुरुपको कार्य ७० प्रतिशत र बचत तथा ऋण कारोवार ३० प्रतिशत गर्नु पर्ने भनी केही समय अगाडि सहकारी विभागले सूचना जारी गरेसँगै बहुउद्देश्यीय सहितका विषयगत सहकारीहरुमा अन्यौलको अवस्थामा रहेको देखिएको छ । यसै बारेमा केन्द्रित रहेर सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले ललितपुरको थसिखेलस्थित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष समेत रहनु भएका नेपाल बहुद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का सचिव माधव तिमिल्सिनासँग कुराकानी गर्नु भएको थियो । जसको सम्पादित अंश यस प्रकार छ ।
१. नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. यतिबेला के गर्दैछ ?
~ नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. ले ले आफ्नो ५ वर्षीय रणनीतिक योजना निर्माण गरिरहेको छ । यस अन्तर्गत : (क) सदस्यता बिस्तार (ख) सदस्य संघ/ संस्थाहरुसँगको कारोवार बिस्तार (ग) सहकारी ऐन , २०७४ र सहकारी नियमावली , २०७५ को संसोधनको लागि आवश्यक पहल गर्ने (घ) यस संघले आफ्ना संघ/संस्थाहरुलाई आन्तरिक कार्यविधि , निर्देशिका र नीति निर्माणमा सहयोग गरिरहने (ङ) सदस्य संघ/संस्थाहरुलाई शिक्षा तालिम अन्तर्गत कोपोमिस तालिम , सम्पति शुद्धीकरण निवारण तालिम , व्यवस्थापन तालिम , लेखा तालिम र कर्जा व्यवस्थापन तालिम थप प्रभावकारी ढंगबाट सञ्चालन गर्ने ।
यसले आफ्ना सदस्य संघ/ संस्थाहरुको विकास र प्रवर्द्धनको लागि सहकारी ऐन , २०७४ र सहकारी नियमावली , २०७५ ले व्यवस्था गरेको अधिकार क्षेत्रभित्र रही आफ्ना सदस्य संघ/ संस्थाहरुको अनुगमन गरिरहेको छ । साथै यसले नेपालको सहकारीको इतिहासमा अहिले सहकारी संघ/संस्थाहरुको अन्यौलतालाई हटाउदै सहकारी ऐन , २०७४ तथा सहकारी नियमावली ,२०७५ , सम्पति शुद्धिकरण निर्देशिका , २०७४ , कोपोमिस सफ्टवेयर , २०७५ , व्याज निर्धारण , २०७६ , सहकारी मर्जरको विषय र विशिष्टीकृत संघको अवधारणालाई कार्यान्वयनमा ल्याउन पहल गरिरहेको छ ।
२. सहकारी विभागले केही महिना अघि २०७७ असोजसम्ममा बचत तथा ऋण कारोवार गर्ने सहकारी बाहेकका बहुउद्देश्यीय सहितका विषयगत सहकारीहरुले दर्ता हुँदाको उद्देश्य अनुरुपको ७० प्रतिशत कार्य र बचत तथा ऋण कारोवार ३० प्रतिशत गर्नु पर्ने भनी सूचना प्रकाशन भएको थियो । यसबारे तपाई के भन्नुहुन्छ ?
~ बहुउद्देश्यीय सहितका विषयगत सहकारी संघ/संस्थाहरुमा यो ७० र ३० प्रतिशत भन्ने विषय कार्यान्वयन हुनै सक्तैन । कानुनमा एकातिर सदस्यको बचतलाई परियोजनामा लगानी गर्न नपाउने भनेको छ भने अर्कोतिर कानुनमा नै कारोवारको ७० प्रतिशत परियोजनामा लगानी गर्नु पर्छ भन्नुले कानुन आपसमा बाझिएको अवस्था छ । त्यसैले सहकारी संघ/संस्थाहरुलाई अन्यौल बनाउने यो विषय संशोधन हुनु पर्दछ ।
३. नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. यसबारेमा के गर्दै छ ?
~ नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष सुरेन्द्र भण्डारी सहकारी ऐन संशोधन उच्च स्तरीय समितिमा हुनुहुन्छ । त्यो समितिले सहकारी ऐन , २०७४ र सहकारी नियमावली , २०७५ को संशोधन गर्नु पर्ने विषयको मस्यौदा तयार गरी सकेको छ । आशा गरौँ , यो मस्यौदा विधिवत ढंगबाट अगाडि बढी यसले संघीय संसदको आउने हिउदे अधिवेशनमा कानुनी रुप ग्रहण गर्छ होला !
४. बहुउद्देश्यीय सहितका विषयगत सहकारीलाई अन्यौल बनाउने विषय कसरी आयो जस्तो लाग्छ , तपाईलाई ?
~ शुरुमा पर्याप्त अध्ययन , विश्लेषण र बर्तमान अवस्थाको मुल्यांकन नगरी सहकारी ऐन , २०७४ मा यो विषय ल्याइएकोले यसले बहुउद्देश्यीय सहितका उत्पादन तथा वितरणसँग जोडिएका विषयगत सहकारी संघ/संस्थाहरुमा अन्यौलता सिर्जना ग-यो । त्यसैले यो विषय संशोधन हुने अवस्थामा छ । उचित वातावरण बनाई क्रमैसँग बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई उत्पादनसँग जोडिएर परियोजना सञ्चालन गर्नको लागि समयावधि दिनु आवश्यक छ ।
बहुउद्देश्यीय सहितका विषयगत सहकारी संघ/ संस्थाहरुमा करको समस्या समाधान भयो ?
~ गत आर्थिक वर्षमा सरकारले बचत तथा ऋण सहकारीलाई मात्रै ऐनमा व्यवस्था भए बमोजिम महानगरपालिका र उप-महानगरपालिकामा १० प्रतिशत र नगरपालिकामा ५ प्रतिशत कर छुट दियो तर उत्पादन तथा वितरणसँग प्रत्यक्ष जोडिएका बहुउद्देश्यीय सहितका विषयगत सहकारीलाई कर छुटबाट बञ्चित ग-यो । जुन नगर्नु पर्थ्यो । कर छुटको विषयलाई नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. को विशेष पहलमा नेपाल सरकार , अर्थ मन्त्रालयले सहकारी ऐन , २०७४ बमोजिम बजेट मार्फत आर्थिक वर्ष २०७६/०७७ देखि बचत तथा ऋण सहकारी सरह नै बहुउद्देश्यीय सहितका वित्तीय कारोवार गर्ने सबै सहकारीलाई कर छुट दिएको छ ।
६. सहकारी मर्जरबारे नेपाल बहुउद्देश्यीय केन्द्रीय संघ लि. को धारणा के छ ?
~ नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. को सहकारी मर्जरबारे प्रदेश स्तरीय गोष्ठि सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
७. अन्तमा केही भन्नु छ कि ?
~ नेपालभर सञ्चालनमा रहेका सबै बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुलाई ढुक्क भएर काम गर्न आग्रह गर्दछु ।