नेपालमा सहकारीको भूमिका

0 Shares

-कृष्ण बिष्ट , अध्यक्ष , सभ्य समाज बहुउद्देश्यीय सहकारी संस्था लि. , तीनकुने , काठमाडौं

 

सहकारी भनेको सहकार्य गर्ने व्यक्तिहरुको साझा संस्था हो । सहकारी संस्थामा सबै सदस्यहरु कार्यगत रुपमा सक्रिय हुन्छन् र सामुहिक हितका लागि कार्य गर्छन् । सहकारी संस्थाहरु सदस्य केन्द्रित भएर क्रियाकलाप गर्ने खुल्ला सदस्यतामा आधारित र प्रजातान्त्रिक नियन्त्रण भएका  संस्थाहरु हुन् । यिनीहरुले सामुहिक हितलाई केन्द्रमा राख्छन् । यिनीहरु सामुहिक चरित्रका हुन्छन् र सदस्यलाई आर्थिक हित प्रवर्द्धन गर्छन् ।

सहकारी संस्थाहरुले समाजमा रोजगारी सृजना , कृषि विकास , उपभोग्य बस्तुको आपूर्ति , वित्तीय सेवा विस्तार साथै नेतृत्व विकास , समाजको प्रजातान्त्रिकरण , महिला तथा समुदायमा पछाडि परेका मानिसहरुलाई सशक्तिकरणमा महत्वपूर्ण योगदान दिएका छन् । सहकारी मार्फत समाजमा धेरै परिवर्तनहरू भएको देख्न , पढ्न र सुन्न पाइन्छ । गरिवी निवारण र पछौटेपन दूर गर्न एउटा सशक्त माध्यमका रुपमा सहकारीलाई लिइएको छ ।  शान्ति , सम्बृद्धि र सर्वाङ्गिण विकासका लागि सहकारीले देशभित्रका स्रोत , साधन र पूँजी परिचालन गरी रोजगारी सृजना गर्ने कार्य गरेको छ । समुदायका मानिसहरुको सीप , दक्षता र आत्मविश्वासको विकासको सहयोगी बनेको छ सहकारी । त्यसैगरी लैङ्गिक असमानता कम गर्न , सामाजिक द्वन्द्व र विभेद कम गर्न , आर्थिक उन्नतीको आधार तयार पार्न , बिचौलियाको अन्त्य गर्न र सामाजिक मुल्य मान्यतामा परिवर्तन गर्न सहकारी महत्वपूर्ण भूमिका रहेको छ ।

सहकारीमा केही प्रमुख समस्याहरु पनि छन् । जस्तै सहकारीप्रतिको कमजोर बुझाई , सहकारी शिक्षाको कमीको कारणले गर्दा यसको सही माने र मर्म आम जनसमुदायले बुझ्न नसक्नु , समयमा नीति निर्माताहरुको ध्यान पुग्न नपुग्नु , दक्ष जनशक्तिको कमी , ऐन कानुनमा समय सापेक्ष परिमार्जनको कमी , संस्थागत सुशासनको कमी , नियामक निकाय प्रभावकारी हुन नसक्नु , गुणात्मक विकासको अभाव हुनु , पारदर्शिताको कमी आदि ।

हाम्रो देशमा संघीय राज्य संरचना अनुरुप संघ , प्रदेश तथा स्थानीय तहमा सहकारी सम्बन्धी प्रणाली स्थापना गर्न सक्नु नै सहकारीको सुन्दर भविष्य सुनिश्चित हुनु हो । सहकारीद्वारा आम जनताको समुन्नती गराउने कुरामा ढुक्क हुन सकिन्छ । सहकारीको सफलता भनेको सिङ्गो राज्यको सफलता पनि हो । सहकारी संस्था बलियो बनेमा यसको सकारात्मक प्रभाव समग्र समाज तथा देशमा पर्ने पक्का छ । देशको समग्र विकास गर्न सरकारबाट मात्र सम्भव छैन । यसका लागि सहकारी क्षेत्रलाई बलियो साझेदार बनाउन सकिन्छ । आम जनताको समुन्नत भविष्य सम्बृद्धि विना असम्भव छ । त्यसैले व्यवसायिक , आर्थिक , सामाजिक तथा सांस्कृतिक विकास नै सम्बृद्धिको आधार हो । सहकारी क्षेत्रलाई सवल र सक्षम बनाउन सकिएमा नै आत्मनिर्भर तथा दिगो अर्थतन्त्र निर्माण गर्न सकिन्छ र देशले चाहेको सम्बृद्धि हासिल गर्न सकिन्छ । विद्यालय र विश्वविद्यालयहरुमा सहकारी सम्बन्धी पाठ्य पुस्तकहरुको निर्माण गरी औपचारिक रुपमा सहकारीको विषयहरु अध्ययन अध्यापन गराउनु पर्ने हुन्छ । जसको कारणले गर्दा युवा तथा विद्यार्थहरुलाई व्यवहारिक ज्ञान हुन्छ र उनीहरु सहकारीप्रति आकर्षित हुन्छन् । जसले गर्दा देश छोड्ने क्रम कम भएर जान्छ । परिवर्तनका  संवाहक युवाहरू बाध्यता र विवसताले गर्दा दिनहुँ सयौँको संख्यामा विदेशिरहेका छन्  । उनीहरुको श्रम र सीपलाई यही नेपाली माटोमा उपयोग गराउन सहकारीको भूमिका महत्वपूर्ण हुने छ ।

Leave a Reply