भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा लेखापालन र लेखा परीक्षणसँग सम्बन्धित तालिम सम्पन्न

0 Shares

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा २०७६ भदौ १० गते एक दिवसीय लेखापालन र लेखा परीक्षणसँग सम्बन्धित तालिम भक्तपुरको सूर्यविनायक रिसोर्टमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष डी.बी. बस्नेतको प्रमुख आतिथ्यता र सो संघका सचिव तथा संस्थागत विकास उप-समिति संयोजक जगन्नाथ सुवालको अध्यक्षतामा सम्पन्न भयो । उक्त तालिममा प्रमुख अतिथि बस्नेतले नेफ्स्कूनको आफ्ना सदस्य सहकारी संस्थाहरुलाई मर्ज गरेर ५०० मा झार्ने योजना रहेको बताउनुभयो । स्थिरीकरण कोषमा सहभागी भएपछि संस्थाका सदस्यहरुको बचत तथा शेयर रकम सुरक्षित हुने विश्वास व्यक्त गर्दै उहाँले सबै सहकारी संस्थाहरुलाई स्थिरीकरण कोषमा आबद्ध गराई त्यो कोषको माध्यमबाट नै धान्ने गरी एक्सेस जस्ता ब्राण्डिङ्ग कार्यक्रम नि:शुल्क सञ्चालन गर्ने योजना छ भन्नुभयो ।

त्यस अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजुले २०७६श्रावण १९ गतेबाट कार्यान्वयनमा आएको सहकारी सन्दर्भ व्याजप्रति भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को समर्थन रहेको बताउदै सबै सहकारी संस्थाहरु कोपोमिसमा आबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले सम्पति शुद्धिकरणको निर्देशन पालना गर्नु पर्नेमा जोड दिनुभयो । सहकारी ऐन , २०७४ को दफा ४८ र सहकारी नियमावली , २०७५ को दफा २२ को उप-दफा ‘ग’ बमोजिम सहकारी संस्थाको लेखा सुपरीवेक्षण समितिको लागि योग्यता प्रयोजनार्थ यो तालिम सञ्जालन गरिएको उहाँको भनाई थियो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का संस्थागत विकास उप-समिति सदस्य निर्मला सुवालले सञ्चालन र सोही उप-समिति सदस्य महेश्वर बोहोराले स्वागत गर्नु भएको सो तालिममा भक्तपुरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट प्रतिनिधित्व गरी ५५ जना सहकारीकर्मीहरु सहभागी हुनुभएको थियो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. कग लेखा सुपरीवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्याय र सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले उक्त तालिममा सहजीकरण गर्नु भएको थियो ।

सहकारी ऐन र नियमावली कार्यान्वयनको सन्दर्भमा पहिलो पटक उक्त तालिम आयोजना गरिएको आयोजकले त्यस अवसरमा बताउनु भएको थियो । उक्त अवसरमा प्रमुख अतिथि बस्नेतले तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गर्नुभयो ।

Leave a Reply