गोल्डेन अर्थ साकोसको १० औँ वार्षिक साधारणसभा र तीज विशेष कार्यक्रम सम्पन्न

काठमाडौंको तारकेश्वर नगरपालिका – ११ , नेपालटारस्थित गोल्डेन अर्थ बचत तथा ऋण सहकारी संस्था लि.को १०औँ वार्षिक साधारणसभा तथा ‘तीज बिशेष कार्यक्रम २०७६’ यही भदौ १४ गते तारकेश्वर नगरपालिकाका उप-मेयर भवानी डोटेल धितालको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष कविन्द्र रिमालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भयो। प्रमुख अतिथि धितालले सो साधारणसभाको उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले संघ र प्रदेशको सहकारी ऐनको मातहतमा रहेर तारकेश्वर नगरपाालिकाले स्थानीय सहकारी ऐन निर्माण गरिरहेको हुँदा सो स्थानीय सहकारी ऐन निर्माणका लागि यस नगरभित्रका सबै सहकारीलाई स्थानीय सरकारलाई राय सुझाव दिन आग्रह गर्नुभयो। तीजका मौलिक परम्परा र रीतिरिवाजको जगेर्ना र प्रवर्द्धन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा बुद्धिजीवी तथा समाजसेवी धनलाल महर्जनले सहकारीहरु आफैं सक्षम र सवल हुन अग्रसर हुनुपर्नेमा जोड दिदै तीनै तहका सरकारहरुको सहकारी नीति सहकारीमा आबद्ध सबै वर्ग र समुदायको हितमा हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
सोही अवसरमा उक्त साधारणसभाका अध्यक्ष रिमालले सो सहकारी संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सामाजिक कार्यमा सक्रियता बढाउने र विभिन्न सहकारी संस्थाहरुसँग समन्वय गरी एकीकरण प्रक्रिया अघि बढाइने जस्ता सो सहकारी संस्थाको भावी योजना रहेको बताउनुभयो । उक्त अवसरमा सोही संस्थाका उपाध्यक्ष सन्तोष ढुंगानाले आर्थिक प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु. १,०३,४२,२०० , निक्षेप संकलन रु. ५,२३,४५,८९४.७६ र कर्जा लगानी रु. ५,५५,७६,६८४ रहेको बताउनुभयो ।
सो साधारणसभाले त्यस संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीबेक्षण समितिका संयोजक रामसिंह तामाङ्गले प्रस्तुत गर्नुभएको लेखा सुपरीवेक्षण समितिको प्रतिबेदन पारित गरेको थियो।
त्यस अवसरमा २०७५ को एसईई परीक्षामा सर्बोकृष्ट स्थान ल्याउने सो संस्थाका सदस्यहरुका छोराछोरीहरु सिम्रन श्रेष्ठ , बिबेक गौतम ,अंकिता भण्डारी ,स्मृति भट्टराई ,आयुष शाही र दिपिका महर्जनलाई पुरस्कार सहित सम्मान गरिएको थियो। त्यसैगरी उक्त संस्थाका जेष्ठ सदस्यहरु लेख बहादुर अर्याल,कमान सिङ्ग तामाङ्ग र गङ्गा कुमारी भण्डारी तथा उत्कृष्ट कारोबारी अन्तर्गत सन्तोष श्रेष्ठ र गीता तिमल्सिनालाई जेष्ठ नागरिक सम्मानबाट सम्मानित गरियो त्यस्तै सो संस्थाले सञ्चालन गरेको नारी पेवा बचत खाता अन्तर्गतका गीता श्रेष्ठ र सुबत्रा अर्याल रिमाललाई पनि सम्मानित गरिएको थियो ।
उक्त संस्थाले गत सालबाट सञ्चालन गरेको नारीपेवा बचत खाता अन्तर्गतका महिला सदस्यहरुको लागि आयोजना गरेको तीज बिशेष कार्यक्रममा उपस्थित महिलाहरुले परम्परागत पहिरनमा सजिएर तीजका गीतमा नाचगान गरेर मनोरञ्जन गरेका थिए। मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महिला दिदीबहिनीको सम्मानमा तीज कार्यक्रमको आयोजना गरिएको सो अवसरमा बताइएको थियो ।
सो साधारणसभामा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष अमृत थापा , वडा नं ११ का वडा सदस्य प्रज्वल बिक्रम थापा र बिभिन्न बित्तीय संस्थाहरुका व्यवस्थापक तथा प्रबन्धक लगायतको उपस्थिति रहेको थियो। त्यस अवसरमा प्रमुख अतिथि धिताललाई अध्यक्ष रिमालले मायाको चिनो प्रदान गर्नुभएको थियो ।