नेपाल कम्युनिष्ट पार्टीको ७० औँ स्थापना दिवस नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले संयुक्त रुपमा कार्यक्रम गरी मनाए , बलराम उपाध्यायकी जीवनसाथी विद्या तिमिल्सिना तथा कृषि विज्ञ गोपाल पोखरेल र भूतपूर्व न्यायधीश काशीनाथ पोखरेल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

0 Shares

नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवस  नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले हिजो संयुक्त रुपमा मनाए । हिजो काठमाडौंको अनामनगरस्थित मिडिया  इन्टरनेशनलमा नेपाल कम्युनिष्ट पार्टीको आयोजना र सप्तरीमा नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) को आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भए । दुबै कार्यक्रममा ती दुई पार्टीका नेताहरुले मन्तव्य ब्यक्त गर्ने क्रममा सँगै सहकार्य गरिरहेका नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) बीच एकीकरण हुनु पर्नेमा जोड दिनुभयो ।

काठमाडौंको अनामनगरस्थित मिडिया इन्टरनेशनलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालमा कम्युनिष्टहरुको पक्षमा यत्रो ठूलो जनमत भएपनि  कम्युनिष्ट आदर्श र कम्युनिष्ट जनमतको भावना विपरीत कम्युनिष्ट पार्टीको नाममा वर्तमान सरकारले काम गरिरहेको बताउदै नेपालका  देशभक्त कम्युनिष्ट क्रान्तिकारीहरु एक भएर देशभक्तिपूर्ण क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

पुष्पलाल स्मृति प्रतिष्ठान खोल्नु परो भनेर माग गर्ने गणेश पण्डित , कृष्णप्रसाद भट्टराईहरुलाई कारवाहीको कुरा गर्ने माधव नेपाल यतिबेला प्रयाप्त बजेट भएको पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष बनेर मस्ती गरिरहेको भन्दै उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको नीति र विचार चाहिँ नबोक्ने तर क. पुष्पलालको नाममा   व्यापर गरेर खाने कार्य भइरहेको बताउनुभयो । २००६ सालदेखि २०३६ सालसम्म सेप्टेम्बर १५ तारेकका दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने गरेको र सबै ऐतिहासिक तथ्यले  सन् १९४९ सेप्टेम्बर १५ मा नै नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पुष्टी भएको उहाँको भनाई थियो । उहाँले १९४९ अप्रिप २२ का दिनबाट नेपाल कम्युनिष्ट पार्टी गठन शुरु भएकोले सो दिनलाई पनि आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ऐतिहासिक दिनको रुपमा सम्मान गरेको बताउनुभयो । ‘क. पुष्पलालले गरेको समाजको चित्रण सही रहेको र उहाँले अगाडि सारेको वर्ग संघर्ष र सामाजिक मुक्तिको संघर्षको नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ’ उहाँको कथन थियो ।

त्यस अवसरमा अध्यक्ष कट्टेलले नेपाली कम्युनिष्ट आन्दोलनका नेता तथा क. पुष्पलालका सहयोद्धा बलराम उपाध्यायकी जीवनसाथी विद्या तिमिल्सिना , कृषि विज्ञ गोपाल पोखरेल र भूतपूर्व न्यायधीश काशीनाथ पोखरेललाई नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्रदान गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी प्रवेश गर्नु भएका कृषि विज्ञ गोपाल पोखरेल र भूतपूर्व न्यायधीश काशीनाथ पोखरेलले सप्तरीको भारदहमा असली बाजेको पेडा पसलका नाममा धेरै पेडा पसल खुलेर असली बाजेको पेडा पसल नचिनिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीहरुको अवस्था रहेकोले नेपाल कम्युनिष्ट पार्टी चाहिँ असली कम्युनिष्ट पार्टी बनोस् भन्नुभयो । सो कार्यक्रम सञ्चालन गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले २००६ सालदेखि हालसम्म देशी विदेशी प्रतिक्रियावादीहरुले नेपालको कम्युनिष्ट आन्दोलनमाथि प्रहार गर्दै आएको बताउदै बर्तमान ओली सरकारले जनहित विपरीत काम गरेर प्रतिक्रियावादीहरुको नेपालको कम्युनिष्ट आन्दोलनमाथिको प्रहारलाई सहयोग गरिरहेको बताउनुभयो । उहाँले सबै ऐतिहासिक तथ्य र प्रमाणले सन् १९४९ सेप्टेम्बर १५ नै नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको प्रमाणित गरेको बताउदै नेपालको कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको योगदानको आवश्यक छ भन्नुभयो । लाखौँ झुपडीको एकता नै राष्ट्रियता हो भन्ने क. पुष्पलाल श्रमिक जनताको इतिहास खोजी गरी लेख्ने पहिलो इतिहासकार भएको उहाँको भनाई थियो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य आर.बी.भण्डारीले क. पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव मात्रै नभएर नेपालको कम्युनिष्ट आन्दोलनका सिद्धान्तकार भएको र उहाँको उचाई बराबर नेपालको कम्युनिष्ट आन्दोलनमा यसबेलासम्म कोही नदेखिएको बताउदै  क. पुष्पलालमाथि २००६ सालबाटै प्रहार शुरु भएको र यस बेलासम्म पनि प्रहार भइरहेको छ भन्नुभयो । त्यस अवसरमा बोल्दै सोही पार्टीका सचिवालयका अर्का सदस्य राजेश बान्तवाले अखिल नेपाल को-अर्डिनेशन केन्द्र (माले) मा मुक्ति मोर्चाबाट आएका मदन भण्डारीहरुले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस अप्रिल २२ मा मनाउने कुरा ल्याएको र त्यस विरुद्ध अन्तर्विरोध चलेको बताउदै क्रान्तिकारी विचार र सिद्धान्तको पक्षमा उभिदा आफू जस्ता क्रान्तिकारीहरुलाई तत्कालीन माले र एमालेले आफूहरुलाई रिङबाट बाहिर पारेको बताउनुभयो । उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ सल्लाहकार शिव भट्टराईले  पुष्पलाल , बलराम उपाध्याय लगायतका नेताहरूको भारत प्रवासको बसाईको अवस्थाबारे उल्लेख गर्दै देशभक्त र क्रान्तिकारी शक्तिहरु एक हुनु पर्ने खाँचो औल्याउनुभयो ।

सोही अवसरमा नेपल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) की प्रतिनिधि इन्दु ज्ञवालीले संकटको अवस्थामा भारत प्रवासमा रहदा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई कार्यकर्ताले गर्ने गरेको सहयोगको प्रसङ्ग उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टीसँग नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) एकीकरण हुन इच्छुक रहेको बताउनुभयो । उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यद्वय सीता सुवेदी र कृष्णहरि भट्ट लगायतले नेपाली समाजको उपरी ढाँचामा केही परिवर्तन भएपनि समाजको आधारभूत तहमा परिवर्तन नभएकोले सबै क्रान्तिकारी शक्तिहरुको धुर्विकरण र एकीकरण भई क्रान्तिकारी जनसंघर्ष अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य कृष्णहरि भट्ट र अखिल नेपाल महिला यूनियन ३ नं. प्रदेश समिति सदस्य सरला सिग्देलले अन्तर्राष्ट्रिय गीत र  कलाकार  ग्रेस अधिकारीले बंगाली भाषामा गीत गाउनु भएको थियो ।

त्यसै गरी नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले सप्तरीमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता भीम सेढाई तथा नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का नेताहरु मानध्वज गुरुङ , अच्युत ज्ञवाली लगायतले देशभक्त तथा क्रान्तिकारी शक्तिहरुको एकतामा जोड दिनु भएको खबर प्राप्त भएको छ ।

Leave a Reply