२०७६ पुस १९ गते गोदावारीमा बनभोज कार्यक्रम आयोजना गर्दै गन्तव्य साकोस , ताल्छिखेल , ललितपुर

ललितपुर महानगरपालिका -१४ , ताल्छिखेल चोकमा सञ्चालन भइरहेको गन्तव्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०७६ पुस १९ गते शनिवार बनभोज कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । उक्त संस्थाका प्रवन्धक उत्तम घिमिरेले सहकारी सञ्जालसँग कुरा गर्दै २ महिना अगाडि सम्पन्न यस गन्तव्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९औँ वार्षिक साधारणसभाले तय गरेका वार्षिक नीति तथा कार्यक्रम कार्यान्यन गर्ने क्रममा आउदो पुस १९ गते शनिवार ललितपुरको गोदावारीमा यसै संस्थाको महिला उप-समितिको आयोजनामा बनभोज कार्यक्रम हुने बताउनुभयो । २०७६ पुस १५ गतेसम्म उक्त संस्थामा शेयर सदस्य संख्या ५३१ , शेयर पूँजी रु.१,५१,२३,००० , निक्षेप संकलन रु.७,३३,६८,१६१ , कर्जा लगानी रु.९,३३,७७,३५६ र कुल कारोवार रु.१०,२०,००,००० रहेको सोही संस्थाकी लेखापाल सरिता पाण्डेको मनाई छ ।
उक्त संस्थाको ९औँ वार्षिक साधारणसभा २०७६ कार्तिक २३ गते कोप फुडल्याण्ड एण्ड व्याङ्क्वेट , थसिखेल , ललितपुरमा अन्तर्राष्ट्रिय सहकारी महासंघकी बोर्ड सदस्य तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालकी उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यता तथा सोही संस्थाका अध्यक्ष रमेशकुमार चौलागाईको अध्यक्षतामा
सम्पन्न भएको थियो । उक्त साधारणसभाको उद्घाटन गर्दै
प्रमुख अतिथि मल्लले सहकारीको महत्व तथा अन्तर्राष्ट्रिय सहकारी महासंघको अवस्थाको बारेमा बताउदै सहकारीले बचत तथा ऋण कारोवारसँगै महिला सशक्तिकरणका कार्यक्रम अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको थियो । सो साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका सञ्चालक सदस्य तथा जिल्ला सहकारी संघ लिमिटेड , ललितपुरका अध्यक्ष माधव दुलालले यस गन्तव्य साकोसको सबै सूचाङ्क हेर्दा यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएकोले यस संस्थाका शेयर सदस्यहरुले यसै संस्थामा आफ्ना सबै कारोवार गर्न आग्रह गर्नु भएको थियो । उहाँले समाजमा कुनै पनि भेदभाव नभएको संस्था खोजी गर्दा सहकारी मात्रै भेटिने गरेकोले यसलाई बलियो बनाउन सहकारीका सदस्यहरुले आफ्ना सबै वित्तीय कारोवार सहकारी मै गर्नु पर्ने खाँचो औल्याउनुभएको थियो । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका सञ्चालक सदस्य बशन्त माली तथा विभिन्न सहकारी संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको त्यस साधारणसभामा सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै उक्त साधारणसभाका अध्यक्ष चौलागाईले
सो संस्थाले वर्षभरी गरेको क्रियाकलापहरुको विवरण तथा भावी योजनाको प्रस्ताव पेश गर्दै यस गन्तव्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आफ्नो उद्देश्यमा निरन्तर सफलता हासिल गर्दै अगाडि बढिरहेको बताउनुभएको थियो । उहाँले जटिल तथा सम्वेदनशील स्वास्थ्य उपचार शीर्षकमा यस संस्थाबाट स्वास्थ्य उपचार कर्जालाई अधिकतम रु.५०,००० सम्मको सीममा लगानी गरिने नीतिलाई यथावत गरिने , यस संस्थाका महिला सदस्यहरुलाई लक्षित गरी महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण तथा महिला उद्यमशीलता विकास कार्यक्रमका लागि आवश्यक ऋण सहज रुपमा उपलब्ध गराइने नीतिलाई निरन्तरता दिइने , संस्थाको गुणस्तरीय कारोवारमा जोड दिइने , pearls Ratio Analysis लाई सधै मार्ग निर्देशकको रुपमा संस्थामा प्रयोग गरिने तथा समान प्रकृतिका सहकारी संस्थाहरुसँग एकीकरण गरेर जाने बाटोमा अघि बढिने छ भन्नुभएको थियो ।
सोही संस्थाका सचिव श्रीप्रसाद गुरुङले सञ्चालन र सञ्चालक सदस्य इन्दिरा घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यसै सभामा उक्त संस्थाका कोषाध्यक्ष उद्धव चमरेलले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक छत्रमानसिंह थापाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । शेयर सदस्यहरु वीच छलफल भई सो साधारणसभाबाट पारित भएका प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थामा शेयर सदस्य संख्या ४८९ , शेयर पूँजी रु.१,३३,७७,००० , निक्षेप संकलन रु.७,८०,६५,७४४/४३ , कर्जा लगानी रु.८,३२,६२,०९२ , आम्दानी रु.१,४५,७७,१८४/७७ र खर्च रु.१,१६,७६,०४२/५६ रहेको तथा सोही आर्थिक वर्षमा उक्त संस्थाले राज्यलाई विभिन्न शीर्षकमा रु.७,३६,९२८/६१ राजश्व बुझाएको उल्लेख छ ।
त्यस अवसरमा सो संस्थाका उत्कृष्ट बचतकर्ता आशामाया तामाड र असल ऋणी जीतकुमारी विश्वकर्मालाई सम्मान गरिएको थियो । त्यसैगरी उक्त अवसरमा शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए.का साथ उत्तीर्ण हुने ब्रायनध्वज बस्नेत ,प्रकृति चौलागाई , दीपकप्रसाद खुसवा , कृतिका खड्का , सुशिल यादव र सुशान्त ढुङ्गानालाई पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरी सम्मानित गरिएको थियो । सोही अवसरमा अध्यक्ष चौलागाईले प्रमुख अतिथि मल्ललाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।