नेपाल भ्रमण वर्ष २०२० आजबाट शुरु

0 Shares

नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्नै उद्देश्यका साथ नेपाल सरकारले अगाडि सारेको नेपाल वर्ष २०२० आजबाट शुरु हुदैछ । आज अपरान्ह ३:४५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष समारोहका वीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष ३०२० को समुद्घाटन गर्नु हुनेछ ।

त्यस अवसरमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले विशेष सम्बोधन र नेपाल सरकारका संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत मनतव्य व्यक्त गर्ने कार्यक्रम रहेको बताइएको छ । यो उद्घाटन कार्यक्रम गत मंसीरमा सम्पन्न साफ खेलकुद प्रतियोगिताको उद्घाटन सत्रभन्दा भव्य बनाइन लागेको देखिएको छ । सरकारले दशरथ रंगशाला नि:शुल्क उपलव्ध गराएकोले यो उद्घाटन समारोहमा रु.२ करोड जति खर्च लाग्ने अनुमान रहेको सो भ्रमण वर्ष कार्यक्रम तयारी समितिको सचिवालय संयोजक सुरज वैद्यको भनाई छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको यो भ्रमण वर्ष अभियानका लागि नेपाल सरकारबाट रु.६९ करोड ७४ लाख बजेट स्वीकृत भएको बताइएको छ । चीन , भारत सहित ४० देशका पर्यटन मन्त्रीलाई निम्ता गरिएपनि चीन , भारत , म्यानमार र जमैकाका पर्यटन मन्त्री मात्र सहभागी हुने उक्त उद्घाटन समारोहमा प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चार माध्यमका ३५ जना विदेशी सञ्चारकर्मीहरुको सहभागिता रहने जनाइएको छ ।
त्यस अवसरमा पर्यटन क्षेत्रका साथै समग्र निजी क्षेत्र , सरकारी तथा सहकारी क्षेत्रको सशक्त उपस्थिति रहने देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ , नेपाल उद्योग परिसंघ , नेपाल चेम्बर अफ कमर्स , निर्माण व्यवसायी महासंघ , नेपाल हस्तकला महासंघ तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड ,नेपाल सहित विभिन्न संघ/संस्थाहरुले आफ्ना सदस्यहरु तथा आफू मातहतका संघ/ संस्धाहरुलाई आफ्नो पहिचान सहित उपस्थित हुन आह्वान गरेको जानकारी प्राप्त भएको छ । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा आज काठमाडौंका अतिरिक्त देशका ७ वटै प्रदेशमा कार्यक्रम हुने छन् । सातै प्रदेशका मुख्यमन्त्रीहरुले आफ्ना प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको अवसरमा हुने कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । सन् २०२० भर नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रमहरु हुने मन्त्री भट्टराईको भनाई छ । पर्यटकहरुलाई आकर्षित गर्न पुर्वाधारहरुको निमार्ण भइरहेकोले सन् २०२० मा २० लाख पर्यटक उपस्थित हुनेमा मन्त्री भट्टराई विश्वस्त हुनु भएको देखिएको छ ।
सरकारले सन् १९९८ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पहिलो पटक नेपाल भ्रमण वर्ष आयोजना गरेको थियो तर सो वर्ष ५ पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन सकेन । सरकारको सो लक्ष्य पूरा हुन केही वर्ष कुर्नु परेको थियो । त्यसको २२ वर्षपछि सरकारले पुन : आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० मा सरकारको लक्ष्य पूरा हुने हो या होइन , त्यो सरकारको व्यवहार र कार्यशैलीमा भर पर्ने देखिन्छ ।

Leave a Reply