कोरोना महामारी सँगै सहकारी

0 Shares

-शंकर आचार्य

 

संसार भर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले सायद प्रभाव नपारेको क्षेत्र पाउन मुस्किल छ। मानवीय तथा गैर मानवीय क्षति संगै यतिबेला विश्व नै यो महामारी संग लडिरहेको छ। हामो मुलुक नेपालमा पनि यस महामारी गत वर्षको अन्त देखि शुरु हुन गयो। यस महामारीको प्रभाव क्रमश: बृद्धि हुदै करिव एक लाख पचास हजार भन्दा माथि व्यक्तिहरु संक्रमित भई झण्डै नौ सय जनाले ज्यान गुमाई सकेको अवस्था छ। कोरोनाका कारणले विविध क्षेत्रमा नकारात्मक असरको संकेत देखिन थालेको छ।

कोरोना माहामारी संगै बैंक , वित्तीय संस्था र सहकारी क्षेत्र समेत प्रभावित भएका छन्। पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा तरलता वृद्धि भएको छ। कर्जा लगानीमा गिरावट आएको देखिन्छ। यस परिस्थितिमा बैंकहरुले बचतमा दिने ब्याज अनपेक्षित रुपमा घटाएका छन्। आफ्ना ग्राहकहरुलाई न्युनतम सम्मान गर्न समेत बैंकहरु कतै बिचलित भएका त होइनन् भन्ने प्रश्न खडा भएको छ। कुनै बेला गाहकहरुको व्यवसाय उद्योग तथा घरदैलो गर्दै निक्षेप संकलन गर्न अभियान चलाउने बैंकहरुले अहिले प्रतिकूल अवस्थामा विशुद्ध व्यवसायिक र नाफामुखी बन्दै व्याज घटाउनुले सरोकारवालाहरूले नैतिकताको समेत प्रश्न उठाउन थालेका छन्। अझ विकृत पक्ष त के छ भन्दा बैंकहरुका विधमान न्युन व्याजदरमा कर्जा प्रवाह गर्ने नाममा कसैले एउटा बैंकबाट लिइरहेको कर्जालाई अर्को बैंकले आफूकोमा सार्ने स्वाप गर्ने) प्रवित्ति बढेको देखिन्छ। यसरी बैंकहरु कै वीचमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने खतरा समेत सृजना हुनसक्ने संकेत देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता र न्युन कर्जा माग हुनु भनेको अर्थतन्त्र शिथिलता तर्फ उन्मुखको संकेत हो। यस परिस्थितिले उत्पादनमा गिरावट, रोजगारीमा गिरावट आर्थिक वृद्धिमा गिरावट हुदै अन्तमा आर्थिक मन्दीले प्रवेश गर्ने सम्भावना समेत देखिन्छ। बाणिज्य बैंकहरुको समग्र तरलता वृद्धि भई कर्जा लगानीमा कमि आएको भएतापनि गत आ व २०७६/०७७ को अन्तिम महिना अषाढमा भन्दा यस चालु आ व २०७७/०७८ को शुरु श्रावण महिनामा झण्डै रु. २५ अर्ब भन्दा बढीले कर्जा लगानीमा गिरावट आएको अवस्था देखिएको छ। साथै करिव ८ अर्ब रुपैयाले निक्षेपमा समेत गिरावट आएको तथ्याइकले देखाउछ। यसबाट बैंकिंग क्षेत्रमा तरलता बढ्नु निक्षेप कर्ताको आय वृद्धिबाट नभई समग्र कर्जाको मागमा कमि आउनाले हो भनी पुष्टि गर्दछ। कोरोना महामारी संगै बैंक तथा वित्तीय संस्थाको साथै सहकारी क्षेत्रमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने संकेतहरु देखिएका छन्, यद्यपि सहकारी संस्थाहरुले धेरै हदसम्म यसको प्रभावलाई सन्तुलनमा राख्न प्रयास गरेको देखिन्छ।

नेपालको सहकारी अभियान आज भन्दा ६४ वर्ष अगाडिबाट शुरु भई आजसम्म आइपुग्दा यसले विभिन्न जटिल घुम्तीहरु पार गरेको छ। कुनै समय देशमा चलेका आन्दोलन त कुनै समय अन्य संकटहरुको दर्विलो सामना गर्दै सहकारी आन्दोलन निरन्तर अगाडि बढिरहेको छ। विश्व सहकारी अभियान नै विभिन्न आन्दोलन तथा प्रतिकूल घटनाक्रमबाट गुजिदै अगाडि बढिरहेको अवस्था छ। सन् १८४४ मा बेलायतबाट सहकारी अभियान शुरु भईरहदा त्यहाँ भएको मजदुर आन्दोलन सन् १९७० को दशकमा छिमेकी मुलुक भारतमा भएको इरिक क्रान्ति सहकारी आन्दोलनका त्यस्ता महत्वपुर्ण उदाहरण हुन् कि जसले सहकारीका मूल्य र मान्यता स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्यो र सहकारीलाई स्वायत्त संस्थाको रुपमा उभ्याउन योगदान ग-यो। सहकारी स्वायत हुनुको उपज नै यसले हरेक असहज परिस्थितिमा आफना सदस्यहरुलाई सहयोग गर्दै विविध सेवाहरु दिदै आएको छ। कूल ग्राहस्थ उत्पादनमा करिब ५% योगदान तथा समग्र अर्थतन्त्रमा झण्डै १८ प्रतिशत हिस्सा ओगटेको सहकारीलाई अझै व्यापक रुपमा सदस्य केन्द्रित बनाउन सकिएमा सामाजिक तथा आर्थिक रुपान्तरण मा सहकारी महत्वपूर्ण औजार साबित हुने निश्चित छ।

हाम्रो मुलुकमा २०१३ सालबाट अभियानको रुपमा अगाडि बढेको सहकारीले २०७२ सालमा महाबिनाशकारी भूकम्प र यसले पु-याएको क्षतिमा आफ्ना सदस्यहरुलाई मलमपट्टी लगाउने कोशिश ग-यो। सहकारी संग आबद्ध सदस्यहरुलाई आपतकालीन सहुलियत कर्जा उपलब्ध गराउने , खाध्य संकट भएका सदस्यहरुलाई खाद्यान्न उपलब्ध गराउने , मृतकका परिवारलाई आर्थिक सहायता पु-याउने , औषधि उपचारका लागि आर्थिक सहयोग पु-याउने जस्ता कार्य सहकारीले गरेका थिए। यसैगरी संकटको घडीमा सहकारी एउटा सारथी हो भन्ने विषय हाल बढ्दो क्रममा रहेको कोरोना संक्रमणको महामारीमा समेत पुनर्पुष्टि भएको देखिन्छा । गत बर्षको चैत्र ११ गतेबाट लामो समय मुलुकमा लकडाउन गरियो।  व्यापार, व्यवसाय  उद्योग कलकारखाना बन्द गरिए। यस परिस्थितिमा कतिपय सदस्यहरुलाई दैनिकी चलाउन समेत कठिनाई उत्पन्न भईरहदा सदस्यहरुका वीचमा सहकारीको बलियो उपस्थिति देखियो। सहकारी संस्थाहरुले आफ्ना सदस्य हरुलाई विभिन्न सुविधा प्रदान गर्न कोशिस गरे। सदस्यहरुले लिएको कर्जामा निश्चित प्रतिशत ब्याज छुट गर्ने आधिकारिक प्रतिनिधि तोकी सदस्यको घर दैलोमा पुगी सेवा प्रदान गर्ने कर्जा साँवा ब्याज भुक्तानीमा समय थप गरि विलम्व शुल्क छुट गर्ने आदि जस्ता मानवीय धर्म निर्वाह गरे। कोरोना माहामारीमा मात्र होइन , हरेक असामान्य परिस्थितिमा सहकारीले सदस्य केन्द्रित सेवा पु-याएको देखिन्छ। विशेषत समुदायमा आधारित सहकारीहरुले नाफा र व्यवसायिकतालाई मात्र प्राथमिकता नदिई सदस्यका समस्या र सदस्य सेवालाई जोड़ दिएको तथ्यलाई सहकारीले सम्पादन गरेका विभिन्न कार्यबाट समेत पुष्टि गर्न सकिन्छ। पछिलो समय आएको तरलता वृद्धिमा समेत सहकारीहरुले सदस्यबाट जम्मा हुन आएको निक्षेपमा अनपेक्षित व्याज घटाएका छैन। साथै तिनले कर्जा लगानीमा समेत सन्तुलित ब्याजदर कायम गरेका छन्।

यस लेखमा बैंक र सहकारीका केही विषय उल्लेख गरिरहँदा नेपालमा बैंकिंग क्षेत्रको योगदानलाई अवमुल्यन गर्न खोजिएको भने होइन। जनताको जीवनस्तर उठाउन आर्थिक सम्बृद्धि तथा राष्ट्र निर्माणमा प्रत्यक्ष वा परोक्ष भूमिका बैंकहरुले पु-याएका छन् तर नेपालमा अझै ठुलो समुदाय बैंकिंग पहुँच भित्र पुग्न सकिरहेको छैन।  बैंकिंग पहुँच भित्र पुग्न नसकेका समुदायलाई सहकारीले सदस्य बनाई तिनीहरुलाई व्यवसायिक बनाएर जीवनस्तर उकास्न योगदान पु-याएको छ। बैंकले व्यक्तिलाई ग्राहक बनाइरहँदा सहकारीले व्यक्तिलाई सदस्य बनाएर सहकारीको मालिक बनाइरहेको छ । हरेक सहज /असहज स्थितिमा बैंकले आफ्नो ग्राहकलाई सिधा सम्बोधन गर्न असहज छ तर सहज/असहज परिस्थितिमा सहकारीले सदस्यहरुलाई तत्काल सम्बोधन गर्न सक्दछ । अबको बहस : “व्यवस्थित सहकारी , सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सहकारी ,राष्ट्र निर्माणका लागि सहकारी” हुनुपर्छ |

 

( लेखक नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि., कपन ,काठमाडौंका कार्यकारी प्रमुख हुनुहुन्छ। )

 

Leave a Reply