भक्तपुर बचत संघद्वारा ऋण व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि., भक्तपुरको वित्तीय सेवा प्रवर्द्धन उप-समितिको आयोजनामा ऋण व्यवस्थापन तालिम यही फागुन १३ र १४ गते भक्तपुरको घलातेस्थित सूर्यविनायक रिसोर्टमा सम्पन्न भयो । सो संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहभागिहरुलाई प्रमाण-पत्र प्रदान गर्दै हाम्रो यस संघले अन्तर-लगानी , तालिम र अभियानलाई जोड दिई कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले अव्यवहारिक एक व्यक्ति- एक सहकारी, सहकारी संस्था र संघ बीचको कारोबारमा लाग्ने व्याजकर लगायतको कानुन संशोधनको लागि यस संघले पहल गरिरहेको बताउदै यस विषयमा केन्द्रीय संघ र राष्ट्रिय सहकारी महासंघले ठोस पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । त्यसैगरी उक्त संघका उपाध्यक्ष हरि बल्लले बचत तथा ऋण सहकारी संस्थाको मुख्य काम सदस्यबाट बचत स्वीकार्ने र ऋण लगानी गर्नु हो भन्दै ऋण लगानी गरेको रकम समयमै सावाँ व्याज फिर्ता भएन भने संस्था सञ्चालन र सदस्यको बचत फिर्तामै समस्या हुने भएकोले संस्थाले ऋण लगानीमा विशेष ध्यान पु-याउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले तालिमले ऋण लगानीको प्रभावकारी व्यवस्थापन र जोखिम न्यूनिकरणका असल अभ्यासका सिकाईबाट संस्थामा सुरक्षित ऋण लगानी गर्नमा सहयोग पुग्ने बताउनुभयो । त्यस्तै सोही संघका कोषाध्यक्ष एंव वित्तीय सेवा प्रवर्द्धन उप-समितिका संयोजक कान्छाभक्त घजुले संस्थाको प्रभावकारी ऋण लगानी कार्यमा टेवा पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरेको बताउदै यस संघले विना धित्तो ऋण अन्तर्गत बढीमा संस्थाको वासलातको ५ प्रतिशत वा ६० लाखसम्म ऋण लगानीका सीमा बढाएको बताउनुभयो ।
त्यस्तै त्यसै संघका वित्तीय सेवा प्रवर्द्धन उप-समितिका सदस्य राजकुमार लघुले ऋण व्यवस्थापन तालिमबाट सिकेका कुराहरुको व्यवहारिक प्रयोग गर्नुपर्ने खाँचो औंल्याउनुभयो भने सो संघका व्यवस्थापक बालकृष्ण धोजुले हाल वित्तीय बजारमा व्याजदर न्यून रहेको अवस्थामा बढी लागतको बचत स्वीकार नगर्न सुझाव दिर्दै तरलता एवम् ऋण लगानी योग्य रकमको अभाव भएमा यस संघले ८ प्रतिशत व्याजदरमा विशेष ऋण सञ्चालनमा ल्याएको कुरा बताउनु भयो ।
दुई दिवसीय सो तालिमको सहजीकरण सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत, कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कुमार खत्री र सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक कविन्द्र धौबञ्जारले गर्नुभयो । तालिममा त्यसै संघका सदस्य संस्थाहरुबाट ३५ जनाको सहभागी रहेको थियो ।