गाम्चा साकोस सदस्यहरुको छहारीको रुपमा विकास हुदै गएको छ : सांसद बस्नेत

0 Shares

भक्तपुर क्षेत्र नं. २ का सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले गाम्चा साकोस सदस्यहरुको छहारीको रुपमा विकास हुदै गएको विचार व्यक्त गर्नु भएको छ । उहाँले भक्तपुरको सूर्यविनायक नगरपालिका-४, गाम्चाचोकमा अवस्थित गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित  बहुआयामिक भवनको यही फागुन २२ गते एक कार्यक्रमका वीच औपचारिक रुपमा उद्घाटन गर्नुभयो  । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै सांसद बस्नेतले गाम्चा साकोसले आफ्नै भवनबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्नुले यो संस्था प्रगतिपथमा अगाडि बढेको बताउनुभयो । सोही संस्थाका अध्यक्ष विकास खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापालेे   मन्तव्य व्यक्त गर्दै ‘समुदायमा सहकारीको उपस्थितिले सदस्यहरुलाई बचत गर्न र भर अभरमा ऋण लिन सजिलो भएको छ’ भन्नुभयो । उहाँले सूर्यविनायक नगरपालिकाले सहकारीमा अंकुश नलगाउने तर सहकारी संस्थालाई सदस्यको पैसा जथाभावी गर्न नदिइने भन्दै सूर्यविनायक नगरपालिका भित्र कार्यक्षेत्र भएका १२६ वटा सहकारी संस्थाको फाइल डिभिजन सहकारी कार्यालय, भक्तपुरबाट आफूहरुले बुझेको र सूर्यविनायक नगरपालिकाले आफ्नो सहकारी ऐन नियम निर्माण गरी सहकारीको प्रवर्द्धन हुने गरी कार्य गरिरहेको बताउनुभयो । सहकारी संस्थाहरु बचत र ऋण कारोवारमा मात्रै सिमित नरही समुदायप्रति उत्तरदायी भई उद्यमशील कार्यमा लाग्नु पर्ने आवश्यकता औंल्याउनुभयो । त्यसै संस्थाका सचिव विदुर खड्काको सञ्चालनमा भएको सो कार्यक्रम राष्ट्रिय सहकारी बैंक लि.की सञ्चालक सरिता भट्टराई तिमिल्सिनाले गाम्चा साकोसले नेतृत्व विकास , पूँजी निर्माण र महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको आफूले पाएको बताउनुभयो भने नेफ्स्कूनकी सञ्चालक मन्दरा मिश्रले उद्यमशीलताको विकासमा सहकारी लाग्नुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले गाम्चा साकोसले धेरै महिलाहरुलाई समेटेर अगाडि बढेको भन्दै महिला दिदीबहिनीहरुको आर्थिक अवस्था सबल बनाउन सकोस् भनी कामना गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष खड्काले जन्मदेखि मृत्युसम्म, बालकदेखि वृद्धसम्म नाराका साथ समुदायका हरेक पक्षमा  लागिरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. ले बचत र ऋण कारोवारका माध्यमबाट आफ्ना शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको बताउनुभयौ । उहाँले यो संस्था सञ्चालनको क्रममा विभिन्न शेयर सदस्यहरुको विश्वास , साथ र सहयोगको कारण एकीकृत वित्तीय सेवा प्रदान गर्न यो बहुआयामिक भवन निर्माण गर्न सकेकोमा गर्व लागेेेको बताउनुभयो ।

 

 

 

Leave a Reply